काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ-शेन्जेन सिधा हवाई उडान सेवा सुरु गर्ने भएको छ।
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनस्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई दिन नियमित उडान सञ्चालन गर्न लागेको हो। हिमालय एयरलाइन्सले यही जेठ २१ गते बिहीबारबाट काठमाण्डौ-शेन्जेन उडान सुरु गर्न लागेको हो।
उक्त एयरलाइन्सले सार्वजनिक गरेको तालिकाअनुसार काठमाण्डौबाट शेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार राति ९ः५० बजे उडान हुनेछ। काठमाण्डौबाट उडेको जहाज भोलिपल्ट बिहान ४ः३० बजे शेन्जेन पुग्नेछ।
त्यसै गरी, शेन्जेनबाट काठमाण्डौका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान ५ः५५ बजे उडान हुने तथा सोही दिन बिहान ८ः३५ बजे काठमाण्डौ अवतरण गर्ने व्यवस्था मिलाइएको छ।
हिमालय एयरलाइन्सले नयाँ रुट सञ्चालनसँगै नेपाल र चीनबीचको हवाई सम्पर्क थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। चीनको प्रमुख प्राविधिक सहरको रूपमा परिचित शेन्जेनसँग प्रत्यक्ष हवाई पहुँच स्थापित हुँदा पर्यटन, व्यापार, लगानी तथा दुई देशका नागरिकबीचको आदानप्रदानमा सकारात्मक योगदान पुग्ने अपेक्षा कम्पनीको छ।
अर्थ चाैतारी ।