पोखरा । बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतले माग गरेको ४० लाख रुपैयाँ धरौटी नबुझाउँदा भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान कारागार चलान भएका छन् । प्रधानलाई जेठ ३ गते काठमाण्डौमा पक्राउ गरी कास्की ल्याएर अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले प्रधानसँग ४० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
अदालतले जेठ १३ गते धरौटीमा रिहा गर्न माग गरेकोमा नबुझाएपछि कारागार चलान भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका प्रधान फेरि जेठ ३ गते समातिएका थिए । रिसोर्टका पूर्वअध्यक्षसमेत रहेका चिनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधान पक्राउ परेका हुन् ।
रिसोर्टका प्रमुख शेयरधनी चिनबहादुरलाई ७ करोड रुपैयाँको चेक दिएर प्रधानले शेयर किनेका थिए । चिनबहादुरले आफू प्रमुख शेयरधनी बनेर समीर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुवास प्रधान (नुवाकोट) मिलेर रिसोर्ट सञ्चालन गरेका थिए । सुरुमा चिनबहादुर, समीर र छिरिङ मिलेर २०७८ सालबाट रिसोर्ट सञ्चालन गरेका थिए । पछि रिसोर्टमा सुवासको प्रवेश भएको थियो ।
सुवासले रिसोर्ट आफूले सञ्चालन गर्ने भन्दै अर्का व्यवसायी दिपेन्द्र अग्रवाललाई भित्राउँदै चिनबहादुरको शेयर किनेको बताइएको थियो । तर, चेकको रकम खातामा जम्मा गर्न नसक्दा र धरौटीबापतको रकमसमेत नतिर्दा प्रधान कारागार चलान भएका हुन् ।
अहिले रिसोर्ट सञ्चालनका लागि लिइएको ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले लिलामी प्रक्रिया अगाडि बढाएको छ । गोरखापत्र दैनिकमा जेठ १ गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै लिलामी गर्ने प्रक्रिया अघि बढाइएको हो । बैंकको कर्जा असुली विभागले जारी गरेको सूचना अनुसार साविक मार्मिङ–१ मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोर्टका संरचना लिलामी प्रक्रियासमेत सुरु गरिएको छ ।
लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाण्डौ बैंकिङ अफिसमा हुने तय गरिएको छ । चीनबहादुरका अनुसार करिब ७० करोडको लगानीमा क्यासिनोसहित चार तारेस्तरको रिसोर्ट सञ्चालनमा ल्याइएको छ । भोटेकोशी छेउमै करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा छ । तर, लिलामी भन्दा अगाडि नै चिनबहादुरकै जाहेरीका आधारमा प्रधान पक्राउ परेका हुन् ।
प्रमुख शेयरधनी रहेका चिनबहादुरको शेयर प्रधानलाई हस्तान्तरण गर्ने सहमतिअनुसार ७ करोड रुपैयाँको चेक लिएका थिए । चिनबहादुरले सुवासको नाममा शेयर हस्तान्तरण गरिदिएको बताउँछन् । तर उनले पाउनुपर्ने रकम भने नपाएपछि बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । पहिलो पटक २०८२ पुस २० गते २ करोड ५० लाख रुपैयाँको बिगो दाबी गर्दै जाहेरी दिएपछि माघ २३ गते प्रधान पक्राउ परेका थिए । तर, जिल्ला अदालत कास्कीले त्यसको भोलिपल्टै अधिवक्ता जयराम श्रेष्ठको जिम्मा जमानीमा छाडेका थिए ।
जिम्मा जमानीमा थुनाभन्दा बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको भए पनि त्यसयता प्रधान प्रहरीको सम्पर्कमै आएनन् । रिसोर्ट शेयर हस्तान्तरण गरेर दुई वटा चेकबाट ७ करोड रुपैयाँ लिएका चिनबहादुरले २०८२ चैत १७ गते ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै फेरि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।
अर्थ चाैतारी ।