काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा प्राविधिक समस्या आएपछि बोलपत्र पेस गर्ने म्याद थप गरिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रणालीमा अत्यधिक चाप बढेर प्रयोगकर्ताहरूको पहुँच हुन नसकेपछि म्याद थप गरिएको जनाएको हो ।
कार्यालयका अनुसार गत जेठ १८ गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएको थियो । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ११ को उपदफा १ को खण्ड ‘ग’ बमोजिम प्रणाली व्यवस्थापक मार्फत यसअघि जेठ १९ र २० गतेसम्मका लागि म्याद थप गरिएकोमा पुनः प्राविधिक समस्या कायमै रहेकाले अनलाइन म्याद थप गर्ने निर्णय गरिएको हो । जेठ १९ गतेको निर्णयानुसार म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्रको म्याद थपिएको छ ।
जेठ १९ गते म्याद रहेका ठेक्काहरू २०८३ जेठ २० गते बुधबार मध्यान्ह १२ः०० बजेसम्म म्याद थप गरिएको छ भने सोही दिन दिनको १ः०० बजे बोलपत्र खोलिनेछ ।
जेठ २० गते म्याद रहेका ठेक्काहरू २०८३ जेठ २१ गते बिहीबार मध्यान्ह १२ः०० बजेसम्म म्याद थप गरिएको छ भने सोही दिन दिनको १ः०० बजे बोलपत्र खोलिने उल्लेख छ ।

अर्थ चाैतारी ।