logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • सुटकेशभित्र कराइमा ५४ लाख बढी अवैध मुद्रा राखी मलेसिया जाँदै थिए कमल

    सुटकेशभित्र कराइमा ५४ लाख बढी अवैध मुद्रा राखी मलेसिया जाँदै थिए कमल

    468
    SHARES
    सुटकेशभित्र कराइमा ५४ लाख बढी अवैध मुद्रा राखी मलेसिया जाँदै थिए कमल

    काठमाण्डौ । करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको अवैध स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक सवारी चालक पक्राउ परेका छन् । सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।



    उनी नेपाल वायुसेवा निगममा गाउन्ड इक्विपमेन्ट अपरेटर (जीईओ) हुन् । विगत १६ वर्षदेखि उनी निगममा आवद्ध थिए । सोमबार बेलुका उनी काठमाडौंबाट मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेको बाटिका एयरको उडान नम्बर OD181 मार्फत विदेश जान लागेका थिए ।

    विमानस्थलको प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ र प्रहरी टोलीद्वारा गरिएको शारीरिक खानतलासीका क्रममा उनको साथबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्राहरू फेला परेको हो । पक्राउ परेका विश्वासले अवैध विदेशी तथा स्वदेशी मुद्रा आफ्नो कालो रङको लगेजभित्र फलामको कराइमा हालेर लुकाई-छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेका हुन् ।

    सुरक्षा अधिकारीहरूका अनुसार उनको राहदानीचेकजाँच गर्दा उक्त विदेशी मुद्राको वैधानिक वैदेशिक विनिमय वा दरपिठ भएको कतै पाइएको छैन । यसका साथै अघिल्लो वैदेशिक यात्राको विवरण बुझ्दा उनी विभिन्न समयमा २६ पटक नेपालबाट बाह्य मुलुकतर्फ यात्रा गरिसकेको तथ्यसमेत खुलेको छ । प्रहरीले उनी लामो समयदेखि अवैध मुद्रा ओसारपसार वा तस्करीमा संलग्न हुनसक्ने आशंका गरेको छ ।

    प्रहरीले विश्वासको साथबाट अमेरिकी डलर १४ हजार ८५०, ओमानी रियाल २ हजार ९७०, मलेसियन रिंगिट २३ हजार ६३२, जापानी येन ४१ हजार, श्रीलंकन रुपैयाँ ७ हजार ७७०, पाकिस्तानी रुपैयाँ ३ हजार ५४०, वेस्ट अफ्रिकन मिल फ्रान्क १ हजार र नेपाली रुपैयाँ ११ लाख गरी कुल नेपाली विनिमय मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरेको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले विश्वासलाई आवश्यक थप कारबाही र विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जानकारी दिए ।

    null


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट