logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

    लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

    234
    SHARES
    लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

    काठमाण्डौ । बिहिबार बिहानैबाट भन्सार जाँसपास भएर छुटेका विभिन्न ब्राण्डका विद्युतीय गाडीहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए । बजेटमा ईभीको कर बढ्दैछ भन्ने पूर्व सूचना पाएर रातारात गाडी छुटाइएको भन्दै साइमेक्स इंक लगायतका आयातकर्ता कम्पनीमाथि आरोप पनि लगाइयो । तर, हरेक वर्षको जेठ १५ गते अपरान्ह बजेट भाषण हुन्छ, त्यसभन्दा अगाडि पूरानै नियम र त्यस अनुसारको कर दाखिला गरेर गाडी मात्रै होइन, कुनैपनि वस्तु आयात गर्न बाधा पर्दैन ।



    ‘बजेट भाषणको पूर्व सन्ध्यामा सीमा नाका सिल गरिएको थियो र ? यो अभ्यास छ र ? सीमा नाका बन्द हुँदाहुँदै कसैले कुनै सामान आयात गरेको हो र ?’ एक जना व्यवसायी भन्छन्, ‘कि बजेट भाषणको ४८ घण्टा/७२ घण्टा अगाडि सीमा सिल गर्ने नियम ल्याएको भए हुन्थ्यो । होइन भने जाँसपास भइसकेका गाडी समातेर के सन्देश दिन खोजिएको हो ? यसमा पनि भन्सार विभाग जस्तो मुख्य जिम्मेवार निकायसँग समेत कुनै समन्वय नगरी सशस्त्र प्रहरी लगाइनुले सरकारको नियतमै प्रश्न उठेको छ ।’

    जबकी, बजेटको पूर्व सन्ध्यामा गाडीको आयात वर्षेनी बढ्छ । गत वर्ष त झन जेठ १ देखि १४ गतेसम्म करिब ४१ सय ईभी भित्रिएका थिए । गत वर्षको बैशाखमा १८ सय ९२ युनिट ईभी आयात भएकोमा यसपाली बैशाखमा १४३४ युनिट ईभी मात्रै भित्रिएका थिए । अर्को कुरा, चैतको अन्तिमदेखि जेठसम्म गाडी आयातको सिजन पनि हो । यसपछि वर्षातको सिजन सुरु हुने भएकाले ब्यापारिक प्रयोजनका लागि खासै गाडीको आयात हुँदैन । ‘अटो शो’मा प्रदर्शन गरिने नयाँ ब्राण्ड र मोडलहरु भने निकै सकसपूर्वक आयात गरिन्छ ।

     

    अमेरिकाले लिएको थियो अडानी विरुद्दको मुद्दा फिर्ता

    नेपालमा लगानीकर्ता उद्योगी व्यवसायीमाथि धरपकड बढिरहेको छ । केही समयअघि मात्रै प्रतिष्ठित उद्योगपति शेखर गोल्छादेखि बैंकका सीईओसम्म पक्राउ परे । अहिले व्यवसायीले आयात गरेका गाडी धमाधम नियन्त्रणमा लिएर सशस्त्र प्रहरी ति गाडी कुरेर बसिरहेको छ । नेपालमा लगानीकर्तालाई यसरी हत्तु बनाउँदै गर्दा अन्तर्राष्ट्रिय रुपमा भने कसरी हुन्छ, थप लगानीका लागि प्रोत्साहन गरिन्छ । यसको पछिल्लो उदाहरण होः अमेरिकाले भारतीय अर्बपति गौतम अडानी विरुद्दको मुद्दामा लिएको ‘यू टर्न’ ।

    अमेरिकाको न्याय विभाग र युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले अडानी र उनका भतिजा सागर अडानीविरुद्ध २०२४ नोभेम्बरमा आपराधिक घोटाला सम्बन्धि मुद्दा दायर गरेका थिए । तर, अडानी समूहले अमेरिकामा १० अर्ब अमेरिकी डलर लगानी र त्यसबाट १५ हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएपछि उसले अब पुनः दायर नहुने गरी मुद्दा नै खारेज गरिदियो ।

    यो घटनाले अन्तर्राष्ट्रिय व्यापार र कूटनीतिमा लगानीको भूमिका कति महत्वपूर्ण छ भन्ने देखाएको छ ।

     

    एलन मस्कलाई साथमै लिएर राष्ट्रपति ट्रम्पको चीन भ्रमण

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्रै चीनको भ्रमण गरेका थिए । अमेरिका अहिलेसम्मकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो भने चीन दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । यी दुइ शक्ति राष्ट्रका प्रमुखहरुबीच हुने वार्ता र छलफल कुटनीतिक त हुने नै भए, साथमा ‘ब्यापार’को दृष्टिले पनि महत्वपूर्ण थिए ।

    यो महत्वलाई बुझेर अमेरिकी राष्ट्रपति ट्रम्पले खर्बपति ब्यापारी एलन मस्क सहितका लगानीकर्तालाई पनि साथमै लिएर गएका थिए । स्वागत समारोहमा मस्क र चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेनसेन हुआङ ट्रम्पको नजिक बसेका थिए । जबकी, पछिल्लो समय राष्ट्रपति ट्रम्पसँग मस्कको सम्बन्ध सुमधुर नरहेको बताइन्छ ।

    ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि मस्कलाई शक्तिशाली निर्णय गर्ने अधिकार सहितको सल्लाहकार (दक्षता विभागको प्रमुख) बनाएका थिए । छोटो समयमै उनले राजीनामा दिए । ह्वाईट हाउसबाट राजीनामा दिएर बाहिरएपछि उनले ‘एक्स’मार्फत ‘अमेरिका पार्टी’को घोषणा पनि गरिसकेका छन् । तर, राष्ट्रपति ट्रम्पले चीनको भ्रमणमा निकै महत्वका साथ उनलाई चिनियाँ राजनीतिज्ञ र लगानीकर्तासामू प्रस्तुत गरे ।

    यी दुइ घटनाले लगानीकर्तालाई शक्ति राष्ट्रहरुले कसरी प्रोत्साहन गर्छन् भन्ने कुराको पुष्टि गर्छ ।

     

    नगद जरिवानाको घोषणा तर, धरपकड कायमै

    जेठ १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर विवादमा १ प्रतिशत अतिरिक्त कर तिरेपछि उद्योगी व्यवसायीलाई मुद्दा मामिलाको झन्झटबाट मुक्त गराउने घोषणा गरेका थिए । निजी क्षेत्रले यस घोषणाको स्वागत गरेको थियो । तर, बजेट भाषणको एक हप्ता पनि नहुँदै भन्सार पास भएर छुटेका गाडीहरु खोज्दै सशस्त्र प्रहरी परिचालन भयो ।

    ‘घोषणा र व्यवहार फरक देखियो’ एक जना व्यवसायी भन्छन्, ‘जहाँ जे कुरा लेखिएपनि र बोलिएपनि हाम्रो देशमा जो शासकहरु आएपनि उनीहरुको सोच र शैली निजी क्षेत्र र लगानीमैत्री छैन भन्ने कुरा यस घटनाले पनि पुष्टि गरेको छ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट