काठमाण्डौ । मेरियट इन्टरनेसनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज–कार्लटन काठमाडौँ र वेस्टिन काठमाडौँ – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
यससँगै मेरियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने मेरियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्। द रिट्ज–कार्लटन काठमाण्डौ र वेस्टिन काठमाण्डौ उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ।
सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको तीव्र गतिमा विस्तार भइरहेको हस्पिटालिटी विङ हो।चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो तथा विविध व्यवसायमा संलग्न बहुराष्ट्रिय कम्पनी हो। चौधरी ग्रुपको लगानी हस्पिटालिटी, एफएमसीजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारी साधन तथा रियल इस्टेट क्षेत्रमा फैलिएको छ।
काठमाण्डौमा मुख्यालय रहेको चौधरी ग्रुप नेपाललाई विश्वस्तरमा परिचित पर्यटन तथा हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्दै देशको दीर्घकालीन पर्यटन तथा आर्थिक वृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध कम्पनी हो।
चौधरी ग्रुप र मेरियट इन्टरनेसनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य रहेको छ, जसले विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस सम्झौतापश्चात दुई कम्पनीको व्यवसायिक सम्बन्ध अझ विस्तार हुने छ। वेस्टिन काठमाडौँ र द रिट्ज–कार्लटन काठमाण्डौ नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन्।
४० अर्बभन्दा बढी लगानीमा ६ मेरियट फ्रेन्चाइज्ड होटल, ४ नयाँ ब्रान्ड थपिँदै
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मेरियट इन्टरनेसनल इन्कका बोर्ड अध्यक्ष डेभिड मेरियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालहरु, मेरियट इन्टरनेसनल इन्कका एशिया प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेनन, मेरियट इन्टरनेसनल इन्क दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट लगायतको उपस्थिति रहेको थियो।
सम्झौता पश्चात मेरियट इन्टरनेसनलका एशिया प्रशान्त (चीन बाहेक)का अध्यक्ष राजीव मेननले भने, ‘उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुशी छौं। यी ऐतिहासिक परियोजनाहरूले मेरियट इन्टरनेसनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउँछन्। साथै, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछन्। चौधरी ग्रुपको बलियो बजार अनुभव तथा नेपालको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धताले यी होटलहरूलाई क्षेत्रकै विशिष्ट हस्पिटालिटी गन्तव्य बनाउनेमा हामी विश्वस्त छौं।’
त्यसैगरी सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले मेरियट इन्टरनेसनलसँगको सहकार्य नेपाल एवं दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताए।
‘यी ऐतिहासिक परियोजनामा सहकार्य, विश्वास र साझा दृष्टिकोणका लागि हामी मेरियट इन्टरनेसनलप्रति हार्दिक आभार व्यक्त गर्दछौं। काठमाडौँमा विकसित हुने यी परियोजनाहरूले मेरियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डहरूलाई सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव र दिगो दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्नेछन्। हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्नेछौं। सीजी हस्पिटालिटी नेपालमै विश्वस्तरीय प्रपटिहरू विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्याउन प्रतिबद्ध छ।’

द रिट्ज–कार्लटन, काठमाण्डौ
नेपालमा यस ब्रान्डको पहिलो प्रवेशका रूपमा द रिट्ज–कार्लटन काठमाण्डौले आफ्नो प्रसिद्ध सेवा तथा आकर्षक सौन्दर्यमार्फत पाहुनाहरूलाई राजधानीको प्रमुख क्षेत्र ठमेलमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ।
होटलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक रुम रहनेछन, जसलाई उच्चस्तरीय तथा परिष्कृत अनुभव प्रदान गर्ने गरी डिजाइन गरिनेछ। पाहुनाहरूले पाँचवटा फरक रेस्टुरेन्ट तथा बारमार्फत उत्कृष्ट खानाको अनुभव लिन सक्नेछन्। मनोरञ्जन सुविधाअन्तर्गत आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज–कार्लटन स्पा रहनेछ। साथै, होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा सम्मेलन तथा कार्यक्रमका लागि अत्याधुनिक सुविधासम्पन्न हल उपलब्ध हुनेछ, जुन व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि उपयुक्त हुनेछ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ५ किलोमिटर दूरीमा रहनेछ। साथै प्रसिद्ध ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौँ दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूपा तथा पशुपतिनाथ मन्दिरजस्ता सांस्कृतिक सम्पदास्थल नजिकै अवस्थित हुनेछ।
वेस्टिन काठमाण्डौ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा अवस्थित वेस्टिन काठमाण्डौमा १५० वटा प्रिमियम रुम तथा सुइट रहने छन्। होटलमा तीन वटा डाईनिङ् स्थल, वेस्टिनवर्कआउट® फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रूफटप स्विमिङ पुल तथा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा रहने छ। यो होटल पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रममार्फत यात्राको थकान कम गर्ने उद्देश्यका साथ निर्माण हुनेछ।
यी दुई होटलसम्बन्धी सम्झौता मेरियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो महत्वपूर्ण कदम हो।
दुई वर्षभन्दा कम अवधिको सहकार्यमा भारतमा ‘सिरिज बाई मेरियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने ४३ शहरमा ५० होटल सञ्चालनमा आइसकेका छन्। भारतबाहिर सीजी हस्पिटालिटीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याएको छ, जसले उक्त देशमा अटोग्राफ कलेक्सन ब्रान्डको पहिलो प्रवेश गराएको हो। त्यसैगरी, सीजी डेभलपर्सले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो जेडब्लु मेरियट ब्रान्डेड रेसिडेन्स तथा भारतको सिलिगुडी मातिगरामा जेडब्लु मेरियट होटलको घोषणा गरेको छ।
यससँगै मेरियट इन्टरनेसनल र सीजी हस्पिटालिटीले ‘सिरिज बाई मेरियट’ ब्रान्डमार्फत अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेका छन्। यी उपलब्धिहरूले दुई कम्पनीबीचको प्रगाढ सम्बन्ध र दुवै कम्पनीले विश्वभरका उच्च सम्भावना भएका बजारहरूमा विस्तारका अवसरहरू खोजिरहेको संकेत गर्दछ।
अर्थ चाैतारी ।