logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: ‘ब्रोकरबाट सापटी मात्र लिएको हुँ’

    सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: ‘ब्रोकरबाट सापटी मात्र लिएको हुँ’

    429
    SHARES
    सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: ‘ब्रोकरबाट सापटी मात्र लिएको हुँ’

    काठमाण्डौ । व्यवसायी सुलभ अग्रवालले सम्पत्ति शुद्धीकरणको अभियोगलाई अस्वीकार गर्दै आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गरेका छन्।



    बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा उनले हिमालयन रिइन्स्योरेन्सको रकम हिनामिना गरेको आरोपको खण्डन गर्दै ब्रोकरमार्फत व्यवसायका लागि ‘सापटी’ मात्र लिएको जिकिर गरेका हुन् ।

    अग्रवालले दिएको बयानमा श्रीमती सुवी अग्रवालको नाममा भृकुटी स्टक ब्रोकर (ब्रोकर नं. ५५) सँग लामो समयदेखि कारोबार हुँदै आएको बताएका छन् । उनले श्रीमतीको नाममा उक्त ब्रोकरबाट विभिन्न समयमा ६० करोडदेखि १ अर्ब ३८ करोड रुपैयाँसम्म सापटी लिएको स्वीकार गरेका छन्।

    “श्रीमतीको नाममा हुने सबै कारोबार म आफैँले हेर्ने गरेको हुँ,” उनले बयानमा भनेका छन्, “ब्रोकरबाट लिएको उक्त रकम विशुद्ध व्यावसायिक प्रयोजनका लागि मात्र उपयोग गरिएको छ र यसको स्रोतका बारेमा मलाई जानकारी हुने कुरा भएन ।” हाल उक्त ब्रोकरलाई २१ करोड ३१ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समेत उनले खुलाएका छन् ।

    हिमालयन रिइन्स्योरेन्स कम्पनीमा आफ्नो कुनै पनि जिम्मेवारी नरहेको र उक्त कम्पनीको खाताबाट रकम निकालेर व्यक्तिगत प्रयोग नगरेको अग्रवालको दाबी छ । उनले ब्रोकरले कुन स्रोतबाट रकम ल्याएर आफूलाई सापटी दियो भन्ने कुरा ब्रोकरकै दायित्व भएको र त्यसमा आफ्नो संलग्नता नरहेको बताएका छन् । यदि ब्रोकरले दिन नमिल्ने रकम दिएको भए त्यो ब्रोकरकै गल्ती हुने उनको तर्क छ ।

    अग्रवालले सम्पत्ति शुद्धीकरणका लागि कुनै पनि नक्कली कम्पनी वा ‘स्पेसल पर्पस भेहिकल’ खडा नगरेको स्पष्ट पारेका छन् । नेपाल रिइन्स्योरेन्सको शेयरमा ‘कर्नरिङ’ गरेको वा कृत्रिम रूपमा मूल्य वृद्धि गराएको आरोपलाई उनले निराधार भनेका छन् । “मैले धितोपत्र बजारलाई आफ्नो नियन्त्रणमा राख्ने वा कसैलाई नाजायज लाभ दिलाउने मनसायले कुनै काम गरेको छैन,” उनले भनेका छन् ।

    प्रतिवादी दिपक भट्टसँगको सम्बन्धका बारेमा बोल्दै अग्रवालले भट्ट आफ्नो कार्यालयमा आउने-जाने गरे पनि उनको शेयर कारोबारको पासवर्ड वा टिएमएस आफूसँग नरहेको बताएका छन्।

    यस्तै, जगदम्बा स्टिल्स आफ्नो कम्पनी नभएको र सौर्य सिमेन्ट पब्लिक लिमिटेड कम्पनी भएकाले ती कम्पनीको आइपी एड्रेस प्रयोग गरी शेयर चलखेल गरेको भन्ने आरोप समेत गलत भएको उनले दाबी गरेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट