काठमाण्डौ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल अलुम्नाई नेटवर्क (पीनान) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गत शनिवार (जेठ ३०, २०८३ / जुन १३, २०२६) आयोजित उक्त शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला तथा बालबालिकासहित १ सयभन्दा बढी बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
शिविरमा पाकिस्तानबाट चिकित्साशास्त्र अध्ययन पूरा गरी फर्किएका नेपाली डाक्टरहरूले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए। परीक्षणका क्रममा केही जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि विशिष्टीकृत अस्पताल (टर्सियरी हस्पिटल) मा रेफर समेत गरिएको छ। शिविरमा सहभागी बिरामीहरूलाई आवश्यक पर्ने अत्यावश्यक औषधिहरू समेत नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले स्थानीय नागरिकका लागि स्वास्थ्य शिविर आयोजना गरिदिएकोमा पाकिस्तानी दूतावास र पीनान परिवारप्रति आभार प्रकट गरिन्। त्यस्तै, पीनानका अध्यक्ष डा. दीपक मिश्राले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्याउँदै आएको सहयोग र योगदानको प्रशंसा गरे।
शिविर उद्घाटन अवसरमा नागार्जुन–४ का वडाध्यक्ष लक्ष्मीराम शर्मा, स्थानीय बुद्धिजीवी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। पाकिस्तानी दूतावासले शिविरलाई सफल बनाउन सहयोग गर्ने पीनानका चिकित्सक तथा स्थानीय नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ।




अर्थ चाैतारी ।