काठमाण्डौ । प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् ।
सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ । तर, दुई मन्त्रीहरूले सम्मान नगरेको भन्दै उनले नियमापत्ति गरे । बैठकमा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो आसनमै बसिरहेर सभामुखलाई सम्मान प्रकट नगरेका हुन् । ‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो’, महरले भने, ‘मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ ।’
उनले अगाडि भने, ‘सभामुख बैठक पक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्छ भन्ने विषय नियमावलीमा उल्लेख छ । अघि बैठक सुरु गर्दै गर्दा सभामुख बैठकमा प्रवेश गर्दा २ मन्त्रीले सम्मान गर्नुभएको छैन । सभामुख आउँदा दुई जना मन्त्री बसिरहनु भयो । यसले हामीलाई चिन्तित बनाएको छ ।’

नियमावलीमा यस्तो व्यवस्था छ-
यसअघि संसदमै अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने ‘धम्की’ दिन पुगेका थिए । गत बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. वाग्लेले आफूलाई पनि प्रश्न गर्नेका काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने चेतावनी दिएपछि उनको अभिव्यक्तिको संसद बैठकमै विपक्षीहरूले विरोध जनाइरहेका छन् ।
यस्तै लम्सालले दुई दिनअघि ठेकेदारको ‘खुट्टा भाँच्ने’अभिव्यक्ति दिएर विवादमा तानिएका थिए । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए । उनको यस्तो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।
अर्थ चाैतारी ।