काठमाण्डौ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
गर्भावस्था र सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता (एनेमिया) र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउने र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करीब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ ।
शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्रीहरू समेत वितरण गरिएको थियो ।
बैंकले शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायतका जनसरोकारका क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आएको र भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
हाल सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
अर्थ चाैतारी ।