काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सेबोन पुगेर अध्यक्ष भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको अवसरमा उनले यस्तो बताएका हुन् ।
भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने बताए । पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो ।
उनले बजारमा सुशासन, पारदर्शिता, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको बताए । सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव, सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटका क्रममा सरकारको बजेटमा समेटिएका पुँजी बजारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरण विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो ।
एसोसिएसनले डा. भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने र मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदान बढाउने विश्वास व्यक्त गरेको छ ।
अर्थ चाैतारी ।