काठमाण्डौ । दोसो नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने भएको छ।
आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने अध्यक्ष ऋतु सिंह वैद्यले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइन्।
उनका अनुसार एक्स्पोमा ५५ वटा ब्रान्डको सहभागिता रहनेछ, जसले विद्युतीय तथा आधुनिक मोबिलिटी प्रविधिका नयाँ उत्पादनहरू प्रदर्शन गर्नेछन्। यस वर्षको नाइमा एक मोबिलिटी एक्स्पोको मुख्य प्रायोजक रेड बुल रहेको पनि आयोजकले जनाएको छ।
अध्यक्ष वैधका अनुसार गत वर्षको तुलनामा यसपटकको एक्स्पो भव्य, व्यवस्थित र प्रिमियम स्तरको हुनेछ। गत वर्षको एक्स्पोबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सुझावलाई आधार बनाएर यस वर्ष आगन्तुकको अनुभवलाई थप उत्कृष्ट बनाउने तयारी गरिएको उनले बताए।
सवारी पार्किङका लागि नेपाल प्रहरी क्लब परिसरमा दिनभरि पार्किङ सुविधा उपलब्ध गराइने भएको छ। एक्स्पोमा टिकट साधारणतर्फ २०० र विद्यार्थीको लागि १०० रूपैयाँ तोकिएको छ। आयोजकका अनुसार एक्स्पोको प्रवेश टिकटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
अघिल्लो वर्षजस्तै एक्स्पोमा लर्निङ सेसन सञ्चालन हुनेछन्।
ती सेसनमा केवल अटोमोबाइल र प्रविधिमै सीमित नभई, भविष्यमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ अघि बढ्दै छ, नयाँ प्रविधि, नवप्रवर्तन तथा उद्योगको भावी सम्भावनाबारे विज्ञहरूसँग छलफल गरिने आयोजकले जानकारी दिएको छ।
अर्थ चाैतारी ।