logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • ११ महिनामा ६.२ प्रतिशत कर्जा विस्तार, पोहोरभन्दा कम

    ११ महिनामा ६.२ प्रतिशत कर्जा विस्तार, पोहोरभन्दा कम

    195
    SHARES
    ११ महिनामा ६.२ प्रतिशत कर्जा विस्तार, पोहोरभन्दा कम

    काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६.२ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा विस्तार भएको हो ।



    कर्जा विस्तारको दर पोहोरको तुलनामा सुस्ताएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कर्जा विस्तार ८ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाबाट जेठ मसान्तसम्म कुल ५८ खर्ब ३८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।

    पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार सुस्ताएको छ । ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर यो जेठमा ४.८८ प्रतिशतमा झरेको छ, जबकि गत वर्षको जेठमा यस्तो दर ६.०९ प्रतिशत थियो । सोही अवधिमा विकास बैंकको औसत आधार दर ८.२९ बाट ६.८६, फाइनान्सको ९.०२ बाट ७.१६ प्रतिशतमा झरेको छ ।

    त्यस्तै कर्जाको भारित औसत ब्याजदर पनि उच्च दरले नै घटेको छ । कर्जामा भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ७.९९ बाट ६.६४, विकास बैंकहरुको ९.४० बाट ७.७१ तथा फाइनान्स कम्पनीहरुको १०.२२ बाट ८.९० प्रतिशतमा झरेको छ ।

    निक्षेपको दर बढ्यो

    यहीं ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम भने १०.३ प्रतिशतले बढेको छ । ११ महिनामा निक्षेप रकम ७ खर्ब ४८ अर्ब रुपैयाँ थप भएसँगै जेठ मसान्तसम्म कुल निक्षेप ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप रकम पोहोरको तुलनामा बढेको छ । गत आर्थिक वर्ष यहीं अवधिमा निक्षेप ८ प्रतिशतले नै बढेको थियो । कर्जाभन्दा निक्षेपको वृद्धि उच्च भइरहँदा तरलता व्यवस्थापनमा चुनौती थपिइरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट