logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • जेठमा उपभोक्ता महँगी झन्डै दोब्बर, थोक मूल्यवृद्धिमा पनि उच्च उछाल

    जेठमा उपभोक्ता महँगी झन्डै दोब्बर, थोक मूल्यवृद्धिमा पनि उच्च उछाल

    208
    SHARES
    जेठमा उपभोक्ता महँगी झन्डै दोब्बर, थोक मूल्यवृद्धिमा पनि उच्च उछाल

    काठमाण्डौ । मुलुकको बाह्य आर्थिक सूचक बलियो देखिँदै गर्दा आन्तरिक बजारमा भने सर्वसाधारण उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जेठ महिनामा मात्रै महँगी झन्डै दोब्बरले बढेको छ।



    तथ्यांकअनुसार गत वर्षको जेठमा २.७२ प्रतिशतमा सीमित रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति यस वर्षको जेठ मसान्तमा आइपुग्दा ५.२२ प्रतिशत पुगेको छ। यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको समग्र औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित रहेको केन्द्रीय बैंकले जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.२४ प्रतिशत थियो।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी आक्रामक देखिएको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष यी समूहको मूल्यवृद्धि क्रमशः ०.५४ र ३.९४ प्रतिशत मात्र थियो। जेठ महिनामा उपभोक्ताको भान्सा सिधै प्रभावित हुने गरी फलफूल उपसमूहको मूल्यमा १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्यमा १५.१० प्रतिशतको भारी वृद्धि भएको छ। यसैगरी माछामासुको मूल्य ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढ्दा दाल तथा गेडागुडीको मूल्यमा भने ०.९३ प्रतिशतको सामान्य गिरावट आएको छ। गैरखाद्यतर्फ विविध वस्तु तथा सेवाको मूल्य १६.६८ र यातायातको भाडादर १५.३१ प्रतिशतले महँगिएको छ।

    प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बजार महँगीको चाप बढी देखिएको छ। ग्रामीण क्षेत्रको मूल्य सूचकांक ४.७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ५.३८ प्रतिशतको वृद्धि दर्ता भएको छ। प्रादेशिक आधारमा विश्लेषण गर्दा कोशी प्रदेशमा सबैभन्दा बढी अर्थात् ५.७५ प्रतिशत महँगी देखिएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत छ।

    यसैगरी मधेस र लुम्बिनी प्रदेशमा समान ५.६२ प्रतिशत, गण्डकीमा ५.०५, कर्णालीमा ४.८९ र बागमती प्रदेशमा ४.७९ प्रतिशत मुद्रास्फीति रहेको छ। भौगोलिक क्षेत्रका आधारमा तराई क्षेत्रमा सर्वाधिक ५.७४ प्रतिशत महँगी रहँदा पहाडमा Safe Text (कम अर्थात्) ५.०७, काठमाण्डौ उपत्यकामा ४.९८ र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत महँगी कायम भएको छ।

    खुद्रा बजार मात्र नभई उत्पादन र निर्माण लागत निर्धारण गर्ने थोक मुद्रास्फीतिमा पनि यस वर्ष उच्च उछाल आएको छ। अघिल्लो वर्षको जेठमा १.५६ प्रतिशत मात्रै रहेको थोक मूल्यवृद्धि यस वर्षको जेठ आइपुग्दा ८.४७ प्रतिशत पुगेको छ। यस अवधिमा उपभोग्य वस्तुको थोक मूल्य १ प्रतिशतले घटे पनि मध्यवर्ती वस्तुको मूल्यमा १४.६४ प्रतिशत र पूँजीगत वस्तुको मूल्यमा ४.७८ प्रतिशतको उच्च वृद्धि भएको छ। बजार सुस्त रहेकै बेला विकास र निर्माणका गतिविधिमा प्रयोग हुने निर्माण सामग्रीको थोक मूल्य पनि ३.०९ प्रतिशतले महँगिएपछि यसले आयोजनाहरूको लागत अझ बढाउने जोखिम निम्त्याएको छ।

    केन्द्रीय बैंकको तथ्यांकले नेपालको तुलनामा छिमेकी मुलुक भारतमा महँगी दर निकै कम रहेको देखाएको छ। जेठमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहँदा सन् २०२६ को मे महिनामा भारतको यस्तो मुद्रास्फीति ३.९३ प्रतिशत मात्रै सीमित रहेको छ। दुई मुलुकबीच खुला सीमा र स्थिर विनिमय दर रहे पनि नेपालको आन्तरिक आपूर्ति व्यवस्थामा देखिएको अवरोध, बजार अनुगमनको कमजोरी र गैरखाद्य क्षेत्रमा भएको मूल्यवृद्धिका कारण भारतको तुलनामा नेपालमा महँगीको चाप बढी पर्न गएको अर्थ-विज्ञहरूको विश्लेषण छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट