logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय

    ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय

    26
    SHARES
    ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ ।



    डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४ दशमलव १३ प्रतिशतले खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ९८ प्रतिशतले खोलेका छन् । कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेस प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशतले डिम्याट खाता खालेका छन् ।

    नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो सेयर खाता खोल्ने लगानीकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ । आव २०७७/७८ सम्म मेरो सेयर खाता खोल्ने सङ्ख्या सात लाख रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार दुई सय ५४ लगानीकर्ताले मेरो सेयर खाता खोलेका छन् । कूल जनसङ्ख्याको २३ प्रतिशतले मेरो सेयरको खाता खोलेका छन् ।

    विगत पाँच वर्षको अवधिमा शेयर कारोबार गर्ने (टिएमएस) खाता खोल्नेको सङ्ख्या पनि उल्लेखनीय रुपमा वृद्धि भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताहरुले टिएमएस खाता खोल्नुपर्ने हुन्छ ।

    आव २०७७/७८ मा टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या करिब ३५ हजार मात्रै रहेको थियो । आव २०८२/८३ को जेठ मसान्तसम्म टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या भने ३४ लाख ६६ हजार चार सय ९९ जना पुगेको छ । प्रतिवेदनअनुसार सेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । आव २०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत रु १५ अर्ब ५४ करोड राजस्व प्राप्त गरेको थियो । चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर वापत रु १० अर्ब ७० करोड राजस्व संकलन गरेको छ ।

    चालु आर्थिक वर्षमा सेयर बजार ओरालो लागेकाले पनि अपेक्षाकृत पुँजीगत लाभकर उठाउन सकेको छैन । नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ । सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दुई सय ९७ कम्पनी सूचीकृत रहेका छन् । बजार पुँजीकरण करिब रु ४६ खर्च ५६ अर्ब पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ७० दशमलव ५२ प्रतिशत बराबर हो ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट