काठमाण्डौ । निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक प्रगति हासिल गरेको छ।
सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ दाबी भुक्तानी गरी बीमितप्रतिको दायित्व, द्रुत सेवा र वित्तीय उत्तरदायित्वलाई सुदृढ बनाएको छ। पछिल्ला वर्षहरूमा व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण र ग्राहक पहुँच बढाउँदै लगेको कम्पनीले दाबी भुक्तानी क्षमतामा समेत उल्लेख्य वृद्धि गरेको जनाएको छ।
व्यावसायिक सफलता र उच्च दाबी भुक्तानीबारे बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले निरन्तर विश्वास र सहयोग पुर्याउने ग्राहक, अभिकर्ता, व्यावसायिक साझेदार, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गरे।
“हामीमाथि देखाउनुभएको अगाध विश्वास र साथले नै हामीलाई निरन्तर अघि बढ्न प्रेरणा मिलेको हो,” सीईओ क्षेत्रीले भने, “आगामी दिनहरूमा अझ उत्कृष्ट र प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत यो विश्वासलाई अझ सुदृढ बनाउँदै लैजानेछौँ।”
कम्पनीले आगामी दिनमा आफ्ना सेवाहरूलाई थप डिजिटल र सर्वसुलभ बनाउँदै सहज दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। साथै, ग्राहक केन्द्रित नवीन बीमा उत्पादनहरूमार्फत आम नागरिकलाई सुरक्षित एवं भरपर्दो सेवा प्रदान गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रको दिगो विकास र विस्तारमा निरन्तर योगदान पुर्याउने लक्ष्य सलिकोले राखेको छ।
अर्थ चाैतारी ।