काठमाण्डौ । गगन थापा नेतृत्वलाई कांग्रेसको आधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको आदेश पुनरवलोकन गर्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। हाल हङकङमा रहेका देउवाले वारेसमार्फत दिएको निवेदन बुधबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अब यो निवेदन तीन न्यायाधीशको पूर्ण इजलासमा पेस हुनेछ। तर कहिले पेस हुने भन्ने तय भइनसकेको पनि कोइरालाले बताए।
उक्त इजलासमा पेस भएपछि सर्वोच्चले यसअघिको आदेश पुनरवलोकन गर्न अनुमति हुने वा नहुने भन्ने आदेश गर्नेछ। पुनरवलोकन गर्न अनुमति दिएमा यसअघिको फैसला पुनरवलोकन हुने सम्भावना जीवित रहनेछ। तर पुनरवलोकन नगर्ने पूर्ण इजलासबाट निर्णय भएमा सम्पूर्णरूपमा कांग्रेको आधिकारिकता विवादको वैधानिक बाटो बन्द हुनेछ।
२०८२ पुस अन्तिमसाता भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिएका थिए। तर विशेष महाधिवेशनमा सहभागी नभएको १४ औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा पक्षले उक्त नेतृत्व अवैधानिक भन्दै निर्वाचन आयोगमा पनि आफूनै आधिकारिक दाबी गरेको थियो। तर निर्वाचन आयोगले थापा नेतृत्वलाई नै कांग्रेसको आधिकारिकता दिएको थियो।
आयोगको निर्णयविरुद्ध देउवा पक्ष माघ ४ गते सर्वोच्च अदालत गएको थियो। सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै थापा पक्षलाई काम गर्ने बाटो खुलेको थियो। मुद्दाको टुंगो नलाग्दै थापाकै हस्ताक्षरमा टिकट लिएर कांग्रेस उम्मेदवारहरू चुनाव लडेका थिए।
२०८३ वैशाख ४ गते शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले थापालाई आधिकारिकता दिने आयोगको निर्णय सदर गर्दै देउवा र खड्काको रिट खारेज गरिदिएको थियो। उक्त आदेश बदरको माग गर्दै तीन महिनापछि फेरि देउवा-खड्का सर्वोच्च पुगेका हुन्। यता आधिकारिकता खोजिरहेका देउवा र खड्काले आन्तरिकरूपमा छुट्टै पार्टी गठनको तयारी अगाडि बढाइसकेका छन्।
उनीहरूले चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेर पार्टीका गतिविधि बढाएका छन्। यो समूहले शेखर कोइरालालाई सभापति बनाएर अगाडि बढ्ने तयारी गरिरहेको छ। गगन थापा नेतृत्वसँग पनि पार्टी मिलाउन विभिन्न चरणमा छलफल भइरहेको छ। तर सहमतिको सम्भावना टर्दै गएको भन्दै नयाँ पार्टीको कसरत पनि सँगसँगै अगाडि बढाएको छ।
अर्थ चाैतारी ।