logo

२०८३ साउन ७, विहिबार

logo
  • २०८३ साउन ७, विहिबार
  • सूरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डीन

    सूरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डीन

    195
    SHARES
    सूरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डीन

    काठमाण्डौ । नेपालका लागि फिलिपिन्सका मानार्थ वाणिज्यदूत सूरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ को नयाँ डीनमा निर्वाचित भएका छन्। संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो। निवर्तमान डीन एवम् बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरे। नेतृत्व हस्तान्तरणपछि थापाले अब ‘इमिडिएट पास्ट डीन’ (निवर्तमान डीन) को रूपमा संस्थालाई सहयोग जारी राख्नेछन्।

    हस्तान्तरण समारोहमा निवर्तमान डीन भोला विक्रम थापाले आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गरे। उनले कूटनीतिक सम्बन्ध सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र नेपालको सामाजिक-आर्थिक विकासमा मानार्थ वाणिज्यदूतहरूको भूमिकालाई प्रभावकारी बनाउन एचसीसीएनले चालेका विभिन्न कदमहरूबारे चर्चा गरे। संस्थाको गरिमा उच्च बनाउन सहयोग गर्ने सबै सदस्यहरूलाई उनले धन्यवाद ज्ञापन गरे।

    कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल मुख्य अतिथिको रूपमा सहभागी थिए। समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको खाडल पुर्न मानार्थ वाणिज्यदूतहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले आर्थिक कूटनीतिमा एचसीसीएनको योगदानको प्रशंसा गर्दै लगानी र पर्यटनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन नयाँ नेतृत्वलाई आग्रह गरे।

    ‘तपाईंहरूको प्रयासले नेपालको अन्तर्राष्ट्रिय पहुँचलाई समृद्ध बनाएको छ र जनस्तर, व्यावसायिक तथा संस्थागत सम्बन्धलाई थप मजबुत बनाएको छ,’ मन्त्री खनालले भने। उनले मानार्थ वाणिज्यदूतहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउन परराष्ट्र मन्त्रालयले उनीहरूको कार्य र सुविधासम्बन्धी विद्यमान नियमावलीको समयसापेक्ष परिमार्जन गर्ने घोषणा समेत गरे।

    सरकारले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री खनालले कर्प्सका सदस्यहरूका लागि तीनवटा विशिष्ट प्राथमिकताहरू प्रस्ताव गरे। पहिलो, देशगत रणनीतिक योजना। मन्त्रालयसँग मिलेर उच्च प्रविधि हस्तान्तरण, वैदेशिक लगानी, नवीकरणीय ऊर्जा र व्यापार सहजीकरणमा केन्द्रित ठोस योजना निर्माण गर्न मन्त्रीले आग्रह गरे। उनले नियमित रूपमा ‘बीटुबी’ फोरम र प्रवर्द्धनात्मक गतिविधिहरू आयोजना गर्न जोड दिए।

    दोस्रो, नागरिक केन्द्रित कन्सुलर सेवा। भिसा प्रक्रिया र कन्सुलर सहायतामा हुने ढिलाइप्रति चासो व्यक्त गर्दै मन्त्रीले सेवालाई पहुँचयोग्य र प्रभावकारी बनाउन आग्रह गरे। ‘सहज सेवा प्रवाहले प्रत्यक्ष रूपमा द्विपक्षीय सद्भाव बढाउँछ,’ उनले भने। र तेस्रो, सांस्कृतिक र युवा सम्बन्ध सुदृढीकरण। व्यापार बाहेक, दीर्घकालीन साझेदारीको जग बसाल्न शैक्षिक आदानप्रदान र युवा संलग्नतालाई बढावा दिन मन्त्री खनालले प्रोत्साहन गरे।

    मन्त्री खनालले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र आम निर्वाचनको जनादेशले राजनीतिक स्थिरता, पूर्वानुमान योग्यता र नीतिगत निरन्तरताको आधार तयार गरेको बताए। सरकार भ्रष्टाचार निवारण र समावेशी आर्थिक वृद्धिमा गम्भीरतापूर्वक लागेको उनको भनाइ थियो।

    नयाँ पदभार ग्रहण गर्दै नवनिर्वाचित डीन सूरज वैद्यले संस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो प्राथमिक ध्यान कन्सुलर कर्प्सको सामूहिक आवाजलाई सशक्त बनाउन र सक्रिय आर्थिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिका उद्देश्यहरूलाई सहयोग पुर्‍याउनु हुने बताए। वैद्य ग्रुपका अध्यक्ष वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी हुन्।

    ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) नेपालमा विभिन्न देशहरूको प्रतिनिधित्व गर्ने मानार्थ वाणिज्यदूतहरूको छाता संगठन हो। यसले कूटनीतिक समुदाय, नेपाल सरकार र निजी क्षेत्रबीच सञ्चार र समन्वयको मञ्चको रूपमा काम गर्दछ। हाल एचसीसीएनमा विश्वभरका राष्ट्रहरूको प्रतिनिधित्व गर्ने ६४ जना मानार्थ वाणिज्यदूतहरू सदस्य रहेका छन्। यो प्रभावशाली निकायले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच अवसरहरू जोड्ने काम गर्दै आएको छ।

    नवनियुक्त डीन सूरज वैद्य नेपालको अग्रणी औद्योगिक समूह ‘वैद्यज अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस’ का अध्यक्ष हुन्। निजी क्षेत्रका अनुभवी व्यक्तित्व वैद्यले यसअघि एचसीसीएनको कार्यसमितिमा भाइस डीनको रूपमा समेत सेवा गरिसकेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ७ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट