काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा प्रणालीमा देखिएको अस्वाभाविक ढिलाइ र प्रशासनिक उदासीनताका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । २०८१ सालतर्फको तीनवर्षे बीए प्रथम वर्षको आंशिक परीक्षा २०८२ सालभित्रै सम्पन्न हुनुपर्नेमा २०८३ सालको जेठमा मात्र सञ्चालन गरिएकाले विद्यार्थीहरू मारमा परेका छन् ।
परीक्षा सकिएको डेढ महिना भइसक्दा पनि नतिजाको टुङ्गो नलागेपछि विद्यार्थीले आगामी साउन १५ गतेभित्र जुनसुकै हालतमा नतिजा सार्वजनिक गर्न माग गरेका छन् । पनिकाले ९० दिनको समय सीमा भनेर बस्नु नहुने विद्यार्थी बताउँछन् ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बीए प्रथम वर्षको उक्त परीक्षाका लागि विद्यार्थीहरूले २०८२ सालको भदौ र कात्तिकमै परीक्षा फारम भरेका थिए । तर, फारम भरिसकेको ९ महिनापछि मात्रै त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुले २०८३ वैशाख ३ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो । तालिका सार्वजनिक भएको ४५ दिनपछि जेठ १८ गते सुरु भएर जेठ २७ गते परीक्षा सम्पन्न भएको थियो ।
उक्त परीक्षामा आंशिक र मौका दुवै समूहका गरी कुल २ हजार ४ सय ३० परीक्षार्थी सहभागी थिए । त्रिविले दुवै समूहको परीक्षा एउटै मिति, समय र परीक्षा प्रणालीअन्तर्गत सञ्चालन गरे पनि परीक्षा नियन्त्रण कार्यालयले यसलाई केवल मौका परीक्षाको रूपमा व्याख्या गर्दै पन्छिन खोजेको विद्यार्थी उत्सव खड्काको आरोप छ । ‘फारम भरेको जति समय ढिलो भयो, त्यसलाई विश्वविद्यालयले नजरअन्दाज गर्न मिल्दैन,’ खड्काले भने ।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले उक्त परीक्षा मौका र आंशिक परीक्षा भएको र चाप धेरै रहेकाले साउनमा सम्भव नभए भदौसम्म मात्र नतिजा प्रकाशित हुनसक्ने बताएका छन् । ‘आंशिक र मौका परीक्षार्थीको परीक्षा एउटै मिति र समयमा सञ्चालन गरिएको छ । यस्तो अवस्थामा सम्पूर्ण परीक्षालाई केवल मौका परीक्षा भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन । पहिले आंशिक र मौका परीक्षाको प्रकृति तथा परिभाषा स्पष्ट पारिनुपर्छ, त्यसपछि मात्र वास्तविक तथ्य सार्वजनिक गरिनुपर्छ,’ खड्काले भने ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्तीप्रति तिखो व्यङ्ग्य गर्दै विद्यार्थी योगराज दाहालले विश्वविद्यालय विद्यार्थीको भविष्यप्रति असंवेदनशील बनेको बताए । ‘फारम भरेको समयमा विवाह गरेर घरजम सुरु गरेको परिवारमा नयाँ सन्तानसमेत जन्मिएर २ महिनाको भइसकेको छ । तर त्यही दिन परीक्षा फारम भरेका विद्यार्थीले परीक्षा दिएर पनि नतिजाको अनुहार देख्न पाएका छैनन्,’ दाहालले कटाक्ष गर्दै भने, ‘उता एउटा पुस्ता जन्मियो, यता त्रिविको नतिजा अझै गर्भमै छ ।’
दाहालका अनुसार स्नातक तह पूरा गर्न केवल एक वा दुई विषयको नतिजा कुरिरहेका विद्यार्थीहरू अहिले नतिजाकै कारण स्नातकोत्तर तहको अध्ययन, तीनवर्षे एलएलबी प्रवेश परीक्षाको विभिन्न विश्वविद्यालयको आवेदन खुला रहेको अवस्थामा भर्न पाएका छैनन् । ‘कार्यालयले आफूले गुमाएको समय विद्यार्थीमाथि थपेर नतिजा प्रकाशनमा ढिलाइ गर्न मिल्दैन । विलम्ब भएको समय घटाएर प्राथमिकताका साथ नतिजा सार्वजनिक गरिनुपर्छ,’ दाहालले थपे ।
विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयसँग सामान्य आश्वासन नभई नतिजा प्रकाशनको निश्चित मिति तोक्न माग गरेका छन् । उत्तरपुस्तिका परीक्षणको अवस्था, प्राप्ताङ्क प्रविष्टि, रुजु प्रक्रिया र नतिजा प्रकाशनको सम्भावित दिन समेटिएको पारदर्शी कार्यतालिका जारी गर्दै बीए प्रथम वर्षको नतिजालाई विशेष प्राथमिकतामा राखेर तत्काल सार्वजनिक गर्नुपर्ने महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवको माग छ ।
‘परीक्षा नियन्त्रण कार्यालय विद्यार्थीको समय थन्क्याउने ठाउँ होइन, यो उनीहरूको मेहनतको मूल्याङ्कन गरी भविष्यको बाटो खोल्ने जिम्मेवार संस्था हो । अब त्रिविले स्पष्ट जवाफ दिनुपर्छ । परीक्षा नियन्त्रण कार्यालय नतिजा प्रकाशन गर्दैछ, कि विद्यार्थीलाई अर्को पुस्तासम्म प्रतीक्षा गराउने तयारीमा छ ?,’ यादवले प्रश्न गरे, ‘२४ सय ३० जना विद्यार्थीको नतिजा प्रकाशित गर्न ४५ दिनबढी लगाउने परीक्षा व्यवस्थापन प्रणालीले पनिका बल्खुको असक्षमता कति भन्ने देखाउँछ ।’
अर्थ चाैतारी ।