काठमाण्डौ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म ‘इन्ड्राइभ’ ले नेपालका ६० भन्दा बढी उदीयमान डिजिटल सिर्जनाकर्ता (कन्टेन्ट क्रियटर) हरूलाई एकै ठाउँमा ल्याउँदै ‘क्रियटर्स भेटघाट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मेन्टरसिप, रचनात्मक चुनौती र समुदाय निर्माणका उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कम्पनीले ‘ड्रिम इट, डु इट’ नामक फेलोसिपको समेत घोषणा गरेको छ।
यस पहलअन्तर्गत इन्ड्राइभले सहभागी क्रियटरहरूका ६ वटा मौलिक कन्टेन्ट अवधारणाहरू छनोट गरी निर्माणका लागि बिउ पुँजी (सिड फन्ड) उपलब्ध गराउनेछ, जसको छायांकन नेपालमै हुनेछ। कार्यक्रममा सहभागी क्रियटरहरूले नेपालमा बनाउन चाहेको आफ्नो सपनाको कन्टेन्ट अवधारणाबारे जानकारी गराएका थिए।
त्यसैगरी, ब्रान्ड तथा कर्पोरेट सम्झौता, सम्झौता पत्रको साक्षरता, उचित पारिश्रमिक र काम गर्दा ध्यान दिनुपर्ने कानुनी एवं व्यावहारिक पक्षबारे विज्ञहरूसँग अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो। दिउँसोको सत्रमा क्रियटरहरूलाई माटोका भाँडा बनाउने, चित्रकला तथा हस्तकला जस्ता रचनात्मक समूहमा विभाजन गरी निश्चित समयभित्र मौलिक सामग्री तयार पार्ने अभ्यास गराइएको थियो।
इन्ड्राइभ नेपालका अनुसार छनोटमा पर्ने ६ जना क्रियटरहरूलाई उनीहरूले प्रस्तुत गरेका मौलिक योजना निर्माण गर्न पूर्ण सिर्जनात्मक स्वतन्त्रतासहित उत्पादन खर्च (सिड फन्ड) प्रदान गरिनेछ। जसमा नेपाली जातीय परिकारहरूको वृत्तचित्रदेखि पोखराको साहसिक यात्रा जस्ता व्यक्तिगत अनुभवहरू समेटिएका छन्। छनोट भएका क्रियटरहरूको नाम इन्ड्राइभको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने र आगामी महिनाहरूमा ती कन्टेन्टहरू छायांकन भई प्रदर्शनमा ल्याइने कम्पनीले जनाएको छ।
नेपालमा डिजिटल क्रियटर अर्थतन्त्र द्रुत गतिमा विस्तार भइरहेको र युवा प्रतिभाहरूका लागि यो भरपर्दो जीविकोपार्जनको माध्यम बनेको सन्दर्भमा यो पहल अघि सारिएको हो। आफूलाई केवल राइड-हेलिङ एपमा मात्र सीमित नराखी नेपालको सिर्जनात्मक समुदायको प्रवर्द्धनमा प्रतिबद्ध रहेको इन्ड्राइभले स्पष्ट पारेको छ। ४०० मिलियनभन्दा बढी डाउनलोड र ४८ देशका १२ सयभन्दा बढी शहरमा उपस्थिति रहेको इन्ड्राइभले आगामी दिनमा अन्य विषय र विधाका क्रियटरहरूलाई समेत समेट्दै कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको छ।
अर्थ चाैतारी ।