logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • हकप्रद शेयर निष्काशनको प्रस्तावपछि गार्डियन माइक्रोसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण

    हकप्रद शेयर निष्काशनको प्रस्तावपछि गार्डियन माइक्रोसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण

    624
    SHARES
    हकप्रद शेयर निष्काशनको प्रस्तावपछि गार्डियन माइक्रोसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाण्डौ । हकप्रद शेयर प्रस्ताव सहित विशेष साधारण सभाको मिति घोषणा गरेको भन्दै नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग स्पष्टीकरण मागेको छ। प्राधिकरणले विशेष साधारण सभा सम्बन्धि सूचनामा विशेष प्रस्ताव अन्तर्गत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेकोमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण माग गरेको हो ।



     

    प्राधिकरणका अनुसार, इन्स्योरेन्सको सञ्चालक समितिको २०८१ चैत्र १८ गतेको निर्णयका आधारमा चैत्र २० गते राष्ट्रिय दैनिक पत्रिकामा विशेष साधारण सभा सम्बन्धि सूचना प्रकाशन गरिएको थियो। प्रकाशित सूचनामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरिएको छ।

     

    पूँजी वृद्धि गरी संरचना परिवर्तन गर्नु कम्पनीको मुलभूत मामिला भएको र यसमा नियामकीय सरोकार रहने हुँदा प्राधिकरणको पूर्व स्वीकृति बिना बीमकको पूँजी वृद्धिको सूचनाले सर्वसाधारण लगानीकर्ता, पूँजी बजारका सबै क्षेत्रमा प्रत्यक्ष असर पर्न जाने हुँदा हकप्रद शेयरका लागि साधारण सभामा विशेष प्रस्ताव गर्ने सूचना सार्वजनिक भएको हुँदा त्यस विषयमा के भएको हो भन्ने विवरण सहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न प्राधिकरणले चैत्र २८ गते अर्थात् गत बिहीबार इन्स्योरेन्सलाई निर्देशन दिएको थियो।

     

    नेपाल बीमा प्राधिकरण, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रत्यक्ष नियामक हो। यसले इन्स्योरेन्सको प्रत्येक गतिविधिलाई प्रत्यक्ष नियमन गर्ने कानूनी अधिकार बोकेको छ। हकप्रद शेयर निष्काशनका लागि प्राधिकरणले पूर्व स्वीकृति वा सहमति नदिएसम्म इन्स्योरेन्सले साधारण सभामा प्रस्ताव गर्न वा साधारण सभाबाट भएको निर्णयको आधारमा मात्रै पूँजी बजारको नियामक सेबोनबाट स्वीकृति प्राप्त गरेर हकप्रद शेयर जारी गर्न पाउँदैन । अटेर गरेको अवस्थामा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको इजाजत पत्र नै रद्द गरि दिनसक्छ।

     

    हालै मात्र सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेको यो इन्स्योरेन्सको आधारभूत वित्तीय अवस्था निक्कै कमजोर भएपनि शेयर बजारमा चलखेल गरेर शेयर मूल्य ह्वात्तै बढाइएको भन्दै आलोचना भइरहेको छ। प्रति कित्ता एक सय रूपैयाँमा जारी गरिएको यसको शेयर पूँजी बजार(नेप्से) मा आज आइतबार प्रति कित्ता रू. २,४१२ का दरले कारोबार भएको थियो। यसको प्रारम्भिक कारोबार मूल्य रू. ३०१ बाट शुरू भएकोमा छोटो समयमै कुनै ठोस आधार महँगो मूल्यमा शेयर कारोबार भइरहेको छ। यस बिचमा कम्पनी सम्बद्ध व्यक्तिहरूले नै हकप्रद शेयर जारी गरिने सूचना चुहाएर बजारमा चलखेल गरेको आरोप छ।


    अर्थ चाैतारी
  • सोमबार, ३१ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट