काठमाण्डौ । आउँदो साउन २४ गतेबाट आईपीओ बिक्री गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापुँजी ७ करोड रहेको छ । धौलागिरी लघुवित्तको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सेयरधनीहरुलाई ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता बनाएको छ। समीक्षा अवधिमा संस्थाको सञ्चित मुनाफा ४ करोड ६० लाख रुपैयाँ बढी रहेको छ। यो हिसाबले आईपीओ बिक्रीपछि सेयरधनीहरुलाई यो लघुवित्तले ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता बनाएको हो। हाल संस्थाको चुक्तापुँजी ७ करोड रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।
समीक्षा अवधिसम्म जगेडा तथा कोषमा ११ करोड रुपैयाँ रहेको छ। जसबाट प्रतिसेयर नेटवर्थ रु. २५७ रुपौयाँ हुन आउँछ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.२५ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। खुद ब्याज आम्दानी पनि १० करोड २१ लाख रुपैयाँ रहेको छ। यो लघुवित्तले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ। जसबाट करिब ३६ हजार ग्राहक सदस्यमार्फत कुल १ अर्ब ४४ करोड रुपैयाँ कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्। धौलागिरी लघुवित्तको आईपीओमा यही साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ७ गतेसम्म खुला गरिनेछ। आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
अर्थ चाैतारी ।