काठमाण्डौ । गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायिक फर्ममाथि जरिवाना गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ र एसबीएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरेको हो।
एसबीएल प्रोफेसनलले अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख नगरी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
विभागले उपलब्ध गराएको विवरणअनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै काठमाडौं र ललितपुरका पाँच वटा फर्मलाई पनि तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन भनिएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन तथा कारबाही गरिरहेको जनाएको छ।
यसअघि पनि विभागले विभिन्न मितिमा निरीक्षण र कारबाहीको क्रम जारी राखेको छ।
असार ३१ गते र ३० गते नौ–नौ वटा फर्म कारबाहीमा परे
असार २९ गते ९ वटा
असार २७ गते ५ वटा
असार २६ गते १६ वटा
असार २५ गते ११ वटा फर्ममा अनुगमन गरी आवश्यक कारबाही गरिएको थियो।
विभागले उपभोक्ताको हित र बजार अनुशासन कायम गर्न निरन्तर निगरानी तथा आवश्यक कारबाही गरिरहने जनाएको छ।
अर्थ चाैतारी ।