काठमाण्डौ । कर्णाली विकास बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्।
कर्णाली विकास बैङ्क अनियमितता प्रकरणमा सघाउ पुराउने राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ परेका छन् । अवस्था खराब रहेकै बैङ्कको अवस्था ठिक प्रतिवेदन बनाउने राष्ट्र बैङ्कका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंकको अवस्था राम्रो देखाउने प्रतिवेदन दिने क्रममा संलग्न रहेको आरोपमा ६१ वर्षीय भुवन बस्नेतलाई टोखा, काठमाडौंबाट पक्राउ गरेको हो। सुनसरी स्थायी घर भएका बस्नेत कर्णाली विकास बैंकमा अनुगमन अधिकृतको भूमिकामा खटिएका थिए।
प्राप्त जानकारी अनुसार, बैंकको आर्थिक अवस्था गम्भीर रूपमा नाजुक रहँदासमेत उनले अवस्था सामान्य रहेको भनी राष्ट्र बैंकमा प्रतिवेदन पेस गरेका थिए। यसरी पेस गरिएको प्रतिवेदनकै आधारमा बैंकका आन्तरिक कमजोरीहरू ढाकछोप गरिएको थियो।
यसअघि राष्ट्र बैंकको पत्राचारपछि सीआईबीले अनुगमनमा गएका कर्मचारीहरूको विवरण संकलन गरी अनुसन्धान थालेको थियो। बैंकको कोर बैंकिङ प्रणाली (CBS) मा देखिएको मौज्दात र अन्य बैंक खातामा रहेको रकमबीच असमानता देखिएपछि ठूलो घोटाला भएको खुलेको हो।
यस प्रकरणमा भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरी ल्याइएको छ भने एमाले नेता तथा पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरिएको थियो। यस्तै, बैंकका पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, र नीरजविक्रम शाहसमेतका विरुद्ध पनि अनुसन्धान जारी रहेको सीआईबी स्रोतले जनाएको छ।
सीआईबीले घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउने तयारी गरिरहेको जनाएको छ।
अर्थ चाैतारी ।