काठमाण्डौ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्न र शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ। सम्झौतामा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ ।
परिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन शुरु गरेको हो । उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध-स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५,००० लिटर क्षमताका Extra Neutral Alcohol (ENA) ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ। हाल यस कम्पनीले “सरङ्गी व्हिस्की ४० UP” र “सेतो बाघ भोड्का ३० UP” नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले “रारा ब्लुज ४० UP ” नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।
गुणस्तरलाई उच्चतम प्राथमिकतामा राख्दै उत्पादन र बजार विस्तार गर्ने लक्ष्यसहित, नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।