काठमाण्डाै । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९कोअसार मसान्तसम्मको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
विवरण अनुसार गत आर्थिक वर्षमा १० करोड ४७ लाख कम्पनीले खुद नाफा कमाएको छ । यो अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव २४ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा १२ करोड ५० लाख नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा र संचालन आम्दानी घटेकाले नाफा घटेको छ। सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा १७ प्रतिशत घटेर १५ करोड ८१ लाखमा झरेको छ भने कुल संचालन आम्दानी ७ दशमलव ६८ प्रतिशतले घटेर ४१ करोड ५६ लाखमा झरेको छ । कम्पनीको असार मसान्तसम्म खुद ब्याज आम्दानी १० दशमलव ३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख रहेको छ ।
विवरणअनुसार संस्थाको चुक्ता पूँजी ३२ करोड रहेको कम्पनीले जगेडा कोषमा २२ करोड ८८ लाख सञ्चित गरेको छ । असार मसान्तसम्म कम्पनीको सापटी रकम ३ अर्ब ८ करोड, निक्षेप १ अर्ब १३ करोड पुगेको छ भने कर्जा लगानी ४ अर्ब ७१ करोड गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ७२, मूल्य आम्दानी अनुपात २८ दशमलव ७२ गुणा र प्रतिशेयर नेटवर्थ १७० दशमलव १६ रहेको संस्थाले जनाएको छ ।
अर्थ चाैतारी ।