logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • दाबी भुक्तानीलाई छिटो र सहज बनाउन बीमा प्राधिकरणको पहल

    दाबी भुक्तानीलाई छिटो र सहज बनाउन बीमा प्राधिकरणको पहल

    1.8K
    SHARES
    दाबी भुक्तानीलाई छिटो र सहज बनाउन बीमा प्राधिकरणको पहल

    काठमाण्डौ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी र दाबी भुक्तानीलाई छिटोछरितो बनाउन नेपाल बीमा प्राधिकरण सक्रिय बनेको छ।



     

    यसै सन्दर्भमा प्राधिकरणले आज निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। बैठकमा दाबी भुक्तानीको अवस्था, देखिएका कानूनी तथा व्यावहारिक समस्या र भुक्तानीलाई प्रभावकारी बनाउन आवश्यक कदमबारे विस्तृत छलफल भएको थियो।

     

    बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएका क्षति बीमा दाबी भुक्तानीयोग्य रहेको स्पष्ट गर्दै बीमा कम्पनीहरूलाई “दाबी भुक्तानी मार्गदर्शन” बमोजिम छिटोभन्दा छिटो भुक्तानी गर्न निर्देशन दिए। उनले बीमकहरूले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्नुपर्ने, बीमितले तत्काल राहतको अनुभूति गर्नुपर्ने र दाबी भुक्तानीबारे आम जनतालाई जानकारी गराउनुपर्ने आवश्यकता औंल्याए।

     

     

    उनले भने, “बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा दाबी भुक्तानी गर्दै जानुपर्छ, बीमितले पैसा पाएको अनुभव गर्नुपर्छ, र पुनर्बीमकले बीमकलाई एड्भान्स रकम समयमै उपलब्ध गराउनुपर्छ।”

     

    सुवेदीले बीमकहरूले प्रवाह गर्ने दाबी तथा भुक्तानी सम्बन्धी तथ्यांक सटीक हुनुपर्नेमा जोड दिँदै गलत विवरण प्रस्तुत गर्ने बीमकमाथि प्राधिकरणले कडाइका साथ कारबाही गर्ने चेतावनी दिए। साथै, उनले तरलतालाई उच्च प्राथमिकतामा राख्दै बजारमा आवश्यक नगद प्रवाह सुनिश्चित गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन पनि दिए।

     

     

    बैठकमा उपस्थित निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले साना बीमा दाबीहरूको भुक्तानी सहज रूपमा भइरहेको र ठूला दाबीका लागि पुनर्बीमा कम्पनीहरूको सहयोग आवश्यक रहेको बताए। उनीहरूले आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकनका लागि फिल्डमा बीमा सर्भेयरहरू खटाइएका र प्रतिवेदन आउने क्रम जारी रहेको जानकारी दिए।

     

     

    त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई छिटो रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

     

     

    छलफलमा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुव तिमिल्सिना, शाम्भराज लामिछाने र निर्मल अधिकारीका साथै सबै निर्जीवन, लघु निर्जीवन तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

     

     

    प्राधिकरणले बीमाधारकहरूको सुरक्षाप्रति आफ्नो निरन्तर प्राथमिकता दोहोर्‍याउँदै निष्पक्ष, पारदर्शी र उत्तरदायी बीमा प्रणालीलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट