logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    1.6K
    SHARES
    पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

    काठमाण्डौ। तिहार नजिकिँदै गर्दा देशभर फूलको माग र कारोबार चुलिँदै गएको छ। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार, जसलाई फूल र रङको पर्वका रूपमा चिनिन्छ, सुरु भएसँगै फूलको उत्पादन र बिक्रीमा उल्लेख्य वृद्धि भएको छ।



     

    नेपालमा फूलखेतीको इतिहास पुरानो भए पनि व्यावसायिक रूपमा यसको विस्तार २०५० दशकपछि मात्र सुरु भएको हो। हाल देशभर फूलखेती आत्मनिर्भर बन्दै गएको छ। पूजाआजा, विवाह, स्वागत, बिदाइदेखि अन्त्येष्टिसम्म प्रयोग हुने फूलले दैनिक जीवनमा पनि महत्वपूर्ण स्थान ओगटेको छ।

     

    नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार हाल देशभर करिब २७० हेक्टर जमिनमा व्यावसायिक रूपमा पुष्पखेती भइरहेको छ। यस क्षेत्रमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको र करिब ५३ हजार ५०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।

     

     

    श्रेष्ठका अनुसार तिहारको समयमा मात्र काठमाडौं उपत्यकाभित्र झण्डै ४० लाख माला बिक्री हुने गर्छ। देशका सातै प्रदेशका प्रमुख सहर र ५२ जिल्लामा पुष्पखेती फैलिएको छ। छोटो अवधिमा राम्रो आम्दानी हुने भएकाले सयपत्री र मखमलीजस्ता फूलको खेती विशेष रूपमा तिहार लक्षित हुने गर्छ।

     

     

    पुष्प व्यवसायमा माग र आपूर्तिको वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा माथि रहेको छ। कोरोना महामारीले केही समय व्यवसाय सुस्त बनाए पनि हाल पुनः गति लिन थालेको श्रेष्ठको भनाइ छ। आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भए पनि २०८१/८२ मा कारोबार तीन अर्ब ३७ करोड रुपैयाँमा झरेको थियो।

     

     

    भन्सार विभागका तथ्याङ्कअनुसार, आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात मूल्य एक करोड दुई लाख रुपैयाँभन्दा बढी रहेकोमा २०८१/८२ मा बढेर दुई करोड १३ लाख रुपैयाँ पुगेको छ। नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा र युएईलगायत देशमा निर्यात भइरहेको छ।

     

     

    यसैबीच, काठमाडौं महानगरपालिकाले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि यस वर्ष विदेशी फूल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, विदेशी फूलको आयातले स्वदेशी उत्पादनमा असर पार्ने भएकाले स्थानीय उत्पादकको हितमा यो नीति लागू गरिएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट