काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज (कात्तिक २७ गते) पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
त्यस्तै, सभाले गत आर्थिक वर्ष (आ.व.)को वित्तीय विवरण पारित गर्ने, चालू आ.व.का लागि लेखापरीक्षक नियुक्त गर्ने, बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, साथै बैंकको छाप र लोगो परिवर्तन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
यसबाहेक, बैंकलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने अधिकार प्रदान गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य भएका छन्।
अर्थ चौतारी ।