logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • हेडक्वार्टरले ७ वटै प्रदेशमा खटायो एआईजी

    हेडक्वार्टरले ७ वटै प्रदेशमा खटायो एआईजी

    1.8K
    SHARES
    हेडक्वार्टरले ७ वटै प्रदेशमा खटायो एआईजी

    काठमाण्डौ । निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ । ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटिएका हुन् ।



    प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् ।

    मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआईजी डम्बर बिक काठमाण्डौ फर्किएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनाव भन्दा दुई दिन अघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आकलन गरिएको छ ।

    गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर र कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी खटिने भएका छन् ।

    एआईजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् । प्रहरीका एक जना एआईजी भन्छन्, ‘अनुगमनबाट फर्केपछि हामी प्रतिवेदन दिन्छौँ, सो प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिने छ ।’

    एआईजीहरूले जिल्ला सुरक्षा समितिसँग पनि निर्वाचन सुरक्षा चुनौती र स्थानीय तहमा तय गरिएको रणनीतिबारे बुझ्नेछन् । प्रदेशमा पुगेर फर्केका एक जना एआईजी भन्छन्, ‘प्रहरीको मनोबल बढाउन हामीले दिशानिर्देश गरेका छौँ ।’

    प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ लिँदै छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने गरी जङ्गी अड्डासँग २८ सय पेस्तोल माग गरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरिसकेको छ ।

    २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट