काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६१ प्रतिशतको उच्च वृद्धि हो ।
गत वर्षको यसै अवधिमा बैंकले मात्र २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा बढ्नुमा सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) को रकममा आएको भारी गिरावट र खुद ब्याज आम्दानीमा देखिएको सुधार मुख्य कारक मानिएको छ ।
बैंकको मुख्य व्यावसायिक आम्दानी मानिने खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ मात्र थियो । यस्तै, शुल्क तथा कमिसन आम्दानी पनि २ अर्ब १६ करोडबाट बढेर २ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थाको रकम ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित हुनुले ठुलो सहयोग पुर्याएको देखिन्छ ।
व्यवसाय विस्तारका हिसाबले बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ । चैत मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब ६६ करोड निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन असार मसान्तको तुलनामा क्रमशः ४.६६ र ४.९१ प्रतिशतको वृद्धि हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ठुलो सुधार भएर २१ रुपैयाँ २४ पैसा पुगेको छ भने नेटवर्थ प्रतिसेयर १५८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
२६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सञ्चिति नोक्सानीमा पनि उल्लेख्य सुधार आएको छ । गत असारमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको सञ्चिति नोक्सानी चैत मसान्तमा आइपुग्दा १ अर्ब ९८ करोड ९५ लाखमा झरेको छ । हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ६.९४ प्रतिशत र आधार दर ५.३५ प्रतिशत रहँदा स्प्रेड दर भने ३.५२ प्रतिशतबाट घटेर ३.१३ प्रतिशत कायम भएको छ ।
अर्थ चाैतारी ।