काठमाण्डौ । निष्क्रिय कर्जा (एनपीएल) को ग्राफ उकालो लागे पनि खुद ब्याज आम्दानीमा भएको वृद्धि र खर्च व्यवस्थापनका कारण एनएमबी बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म बैंकले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२५ प्रतिशतको वृद्धि हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको मुख्य व्यावसायिक आम्दानी मानिने खुद ब्याज आम्दानी १३.६७ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुग्नु नाफा बढ्नुको प्रमुख कारण बनेको छ । यसका साथै शुल्क तथा कमिसन आम्दानीमा भएको सुधार र कर्मचारी खर्चमा गरिएको कटौतीले बैंकको मुनाफालाई सहारा दिएको देखिन्छ । बैंकको कर्मचारी खर्च २ अर्ब ६० करोडबाट घटेर २ अर्ब २८ करोड रुपैयाँमा झरेको छ । यद्यपि, खराब कर्जा बढेका कारण सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) भने ७६.२३ प्रतिशतले बढेर २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
कर्जाको गुणस्तरमा चुनौती देखिँदा बैंकको निष्क्रिय कर्जा ४.४७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ । बैंकले यस अवधिमा ५० करोड १५ लाख रुपैयाँ बराबरको कर्जा अपलेखन (राइट अफ) समेत गरेको छ । व्यवसाय विस्तारतर्फ बैंकले चैत मसान्तसम्म २ खर्ब ९७ अर्ब ८३ करोड निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । असार मसान्तको तुलनामा निक्षेप र कर्जा दुवैमा औसत ६ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।
वित्तीय सूचकहरूका अनुसार बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १८ पैसा कायम भएको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चित नाफा ९२ करोड ८९ लाख रुपैयाँ रहेकाले शेयरधनीलाई ५.३४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ । हाल बैंकको मूल्य–आम्दानी अनुपात १३.८४ गुणा र लगानीमा प्रतिफल १०.४८ प्रतिशत रहेको छ ।
अर्थ चाैतारी ।