logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • चुडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदै

    चुडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदै

    494
    SHARES
    चुडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदै

    काठमाण्डौ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला इजलासमा उक्त मुद्दा सुनुवाइ हुन लागेको हो ।



    कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतबाट यसअघि चूडामणि शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप थियो ।

    विशेष अदालतले दोषी ठहर गरेपछि उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल सर्वोच्च अदालत पुगेका थिए । २०८२ असार २५ मा सर्वोच्चका न्यायाधीशहरु सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वच्छ सुनुवाइमा प्रश्न उठाउँदै विशेष अदालतको फैसला त्रुटिपुर्ण भएको औल्याउँदै गर्दै पुन सुनुवाइ गर्न भन्दै सो मुद्दा विशेष अदालतमा फर्काइदिएको थियो । त्यसपछि विशेष अदालतमा यो मुद्दा पुन सुनुवाइ हुन लागेको हो ।

    महत अध्यक्ष रहेको कर फर्स्योट आयोग, २०७१ बाट फर्स्योटका लागि सम्झौता भएका करदातामध्ये केहीलाई बदनियतपूर्वक १० अर्ब दुई करोड रुपैयाँभन्दा बढी कर छुट तथा मिनाह गरेको भेटिएको थियो । शर्मा र ढकाल आयोगका सदस्य थिए । आयोगलाई दिइएको म्यान्डेटभन्दा बाहिर गई आफूलाई फाइदा हुने गरी करदाताहरूसँग सम्झौता गरेका कारण राज्यलाई आउनुपर्ने राजस्व नउठेको दाबी अख्तियारले गरेको थियो ।

    त्यस्तै, सोही वर्ष २०७१ माघ १५ मा फेरि आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा कार्यरत हुँदा शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी अर्को मुद्दा दायर भएको थियो । ०४५ मा सरकारी सेवामा प्रवेश गरेका उनले ०७३ सम्म सात करोड ९३ लाख रुपैयाँभन्दा बढी रकमबराबरको सम्पत्ति जोडेको र खर्च गरेको भेटिएको थियो ।

    अख्तियारको अनुसन्धानअनुसार उनको वैध आय तीन करोड ६३ लाख रुपैयाँ हुनुपर्नेमा चार करोड ३० लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुलेको थिएन । यस मुद्दामा शर्माका साथै जफत प्रयोजनका लागि उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट