logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस: ‘व्यवसायी डराउनु पर्दैन, सरकारले फाइल मात्र खोलेको हो’

    निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस: ‘व्यवसायी डराउनु पर्दैन, सरकारले फाइल मात्र खोलेको हो’

    299
    SHARES
    निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस: ‘व्यवसायी डराउनु पर्दैन, सरकारले फाइल मात्र खोलेको हो’

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई त्रसित नहुन र सरकारको कदमप्रति अनावश्यक संशय नराख्न आग्रह गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले व्यवसायीहरूलाई नआत्तिन र ढुक्क भएर लगानीको वातावरण बनाउन आह्वान गरेका हुन् ।



    अर्थमन्त्री बनेयता निरन्तर निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रयासरत उनले सरकारले कुनै पनि व्यवसायीलाई विनाकारण दुःख दिने नियत नराखेको प्रष्ट पारे । बजारमा व्यवसायी पक्राउको सूची रहेको भन्दै फैलाइएको हल्लाको खण्डन गर्दै उनले सरकारसँग त्यस्तो कुनै लामो सूची नरहेको र अनावश्यक रूपमा तरङ्गित नहुन आग्रह गरे ।

    सम्बोधनका क्रममा मन्त्री वाग्लेले स्वच्छ व्यवसाय गर्नेहरू डराउनु नपर्ने तर व्यवसायको आवरणमा हुने आपराधिक क्रियाकलापमा संलग्नहरू भने कानुनी कठघरामा आउनैपर्ने बताए । उनले अहिले भइरहेका छानबिनहरू नयाँ नभई विगतमा राजनीतिक संरक्षणका आधारमा तामेलीमा राखिएका पुराना फाइलहरू मात्र भएको प्रष्ट्याए ।

    “हामीले नयाँ अनुसन्धान सुरु गरेको होइन, पुराना फाइलहरू जसलाई राजनीतिक आवरणमा लुकाइएको थियो, तिनलाई प्रक्रियामा मात्र ल्याएका हौँ,” उनले भने । राज्यको उपस्थिति बलियो बनाउँदै निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्ने वातावरण बनाउनु सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

    अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरू धमाधम कार्यान्वयन भइरहेको दाबी समेत गरे । लगानी निरुत्साहित गर्ने र निजी क्षेत्रलाई बाधा पुर्‍याउने करिब दुई दर्जन ऐनहरूमध्ये १५ वटा कानुन खारेज गर्ने निर्णय भइसकेको उनले जानकारी दिए ।

    आगामी बजेटमार्फत करको अत्यधिक बोझलाई घटाएर लगानीमैत्री वातावरण बनाउने ठोस योजना सरकारसँग रहेको उनले उल्लेख गरे । जनताले दिएको ठुलो मतादेशलाई न्याय गर्न पनि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो ।

    देशको आर्थिक विकासका लागि सरकारी पुँजीगत खर्च मात्र पर्याप्त नहुने भन्दै मन्त्री वाग्लेले पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागितालाई खुल्ला गर्ने सरकारको नीति रहेको बताए । निजी क्षेत्रको सहयोग र सहभागिताविना देश निर्माण सम्भव छैन भन्ने तथ्यलाई सरकारले गम्भीरताका साथ बुझेको उल्लेख गर्दै उनले उद्योगीहरूलाई ढुक्क भएर आफ्नो व्यवसाय विस्तारमा लाग्न पुनः आग्रह गरे ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट