काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र गति दिन दोस्रो चरणको संरचनात्मक सुधार अब अपरिहार्य भएको बताएका छन्।
महासंघको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको अगुवाइमा ठूला पूर्वाधार र विकासका परियोजना अघि बढाउन ४० अर्ब रुपैयाँसम्मको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गर्न सकिने सम्भावना प्रस्तुत गरे। महासंघकै नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीबाट सुरु भइसकेको उक्त कम्पनीलाई इक्विटीको आधार बनाएर थप लगानी जुटाउँदै ऊर्जा, पर्यटन र औद्योगिक क्षेत्रमा परिचालन गर्ने उनको योजना छ।
६० वर्षे यात्रालाई समृद्ध नेपाल निर्माणको आधारका रूपमा चित्रण गर्दै उनले अबको दशकभित्रै नागरिकलाई मर्यादित र उच्च आय सुनिश्चित गर्ने लक्ष्य लिनुपर्नेमा जोड दिए।
विगतका राजनीतिक आन्दोलन र अस्थिरताले निजी क्षेत्र पटक–पटक प्रभावित भएको स्मरण गर्दै ढकालले वर्तमान सरकारले व्यवसायमैत्री वातावरणका लागि दिएको सकारात्मक संकेतलाई उत्साहजनक रूपमा लिएका छन्। तथापि, वार्षिक ७ लाख युवा रोजगारीका लागि विदेशिनुलाई उनले राष्ट्रिय चिन्ताको विषयका रूपमा औंल्याएका छन्।
युवालाई स्वदेशमै अवसर दिन र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रमुख आर्थिक इन्जिनका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। दोस्रो चरणको आर्थिक सुधारअन्तर्गत नीतिगत स्थायित्व, प्रशासनिक सरलीकरण र वित्तीय पहुँच विस्तार भएमा मात्रै लगानीकर्ताको आत्मविश्वास बढ्ने उनले स्पष्ट पारे।
सरकार, निजी क्षेत्र र श्रमिकबीचको साझा सहकार्यबाट मात्रै दिगो आर्थिक वृद्धि सम्भव हुने दाबी गर्दै उनले यो अभूतपूर्व अवसरलाई गुमाउन नहुने चेतावनी समेत दिएका छन्।
अर्थ चाैतारी ।