काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि मंगलबार निर्वाचन हुँदै छ । सोमवार महासंघको ६० औँ वार्षिक साधारण सभा उद्घाटन सत्र सकिएसँगै मंगलबार निर्वाचन गर्ने कार्यतालिका छ ।
मंगलरबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने महासंघले जनाएको छ । मुलुकमा आम निर्वाचनपछि करिव दुई तिहाई बहुमत सहितको सरकार बनेको छ । स्थिर सरकार बनेकोमा निजी क्षेत्र हर्षित छ । तर पछिल्लो समय महासंघका पूर्वअध्यक्ष तथा अन्य व्यवसायीहरू विभिन्न मुद्दामा पक्राउ परेसँगै निजी क्षेत्र त्रसित छ । त्रासबिच निजी क्षेत्रको छाता संगठन महासंघ चुनावमार्फत भावी नेतृत्व चयनको तयारीमा लागेको छ ।
सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्रमुख आथित्यतामा उद्घाटन सत्र सम्पन्न भएको छ । महासंघको विद्यमान विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदहरू निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी छ ।
नेतृत्वका लागि उद्योगी व्यवसायीहरू दुई प्यानल बनाएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । तसर्थ महासंघको भावी नेतृत्वको लाइन अर्थात् वरिष्ठ उपाध्यक्ष पदका लागि अहिले दुईपक्षीय रस्साकस्सी सुरु भएको छ । महासंघको सेकेन्ड–इन–कमान्ड मानिने यो पदका लागि हेमराज ढकाल र रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र भरतराज आचार्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुने चर्चा छ ।
महासंघको निर्वाचन समितिका अनुसार अध्यक्ष र कोषाध्यक्षबाहेक ७३ पदका लागि निर्वाचन हुन लागेको हो । ७३ पदका लागि कुल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्ला/नगर, वस्तुगत, एसोसिएट्स, द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघ र संस्थापक समूहअन्तर्गतको विभिन्न क्लस्टमा १३७ उद्योगी–व्यवसायीको प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूलाई विभिन्न क्लस्टरका एक हजार ८९२ संघसंस्थाका प्रतिनिधिहरूले मतदान गर्दैछन् ।
निर्वाचन समितिका अनुसार जिल्ला/नगर तर्फबाट उपाध्यक्ष दुई जना, खुला सदस्य १५ जना, महिला सदस्य दुई जना र प्रत्येक प्रदेशबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि निर्वाचन गरिने छ । निर्वाचन समितिका अनुसार सातमध्ये कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
वस्तुगत तर्फबाट उपाध्यक्ष एक जना, कार्यकारिणी सदस्य १३ जना, महिला सदस्य एक जना, वस्तुगत महासंघबाट कार्यकारिणी सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ । यसैगरी, एसोसिएट्स तर्फबाट उपाध्यक्ष एक जना, केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, महिला सदस्य दुई जनाका लागि निर्वाचन गरिने छ ।
त्यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य वाणिज्य महासंघका तर्फबाट एक जना कार्यकारिणी सदस्य पदका लागि निर्वाचन हुने भएको छ । यस्तै, महासंघको संस्थापक सदस्य समूहबाट कार्यकारिणी सदस्य पदमा दुई जनाका लागि निर्वाचन गरिने छ । यसरी निर्वाचित गरिने ७३ पदका लागि वैशाख १८ गते साँझ प्रकाशित उम्मेदवारहरूको अन्तिम नामावली अनुसार कुल १३७ जनाको उम्मेदवारी कायम छ ।
हेमराज ढकालको प्यानललाई पूर्वअध्यक्षहरूको साथ
महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । करिब दुई वर्ष अघिदेखि नै तयारी थालेका ढकालले पूर्वअध्यक्षहरूको बलियो साथ पाएका छन् ।
उनको उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्षहरू पशुपति मुरारका, चण्डीराज ढकाल र रविभक्त श्रेष्ठको समर्थन पाएका छन् । महासंघको राजनीतिमा प्रभाव राख्ने पूर्वअध्यक्ष चण्डीराज ढकाल हेमराजका सहोदर दाजु हुन् ।
ढकालको प्यानलमा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठ पुनः एसोसिएट उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । त्यस्तै, अघिल्लो चुनावमा सर्वाधिक मत ल्याएका महासंघका सदस्य नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष कल्पना गैरे र उमेश डाल्मिया छन् । प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।
अञ्जन श्रेष्ठको प्यानल
वरिष्ठ उपाध्यक्षमा अञ्जान श्रेष्ठको समर्थनमा अर्को प्यानल चुनावी मैदानमा छ । उनको प्यानलमा रामचन्द्र संघाई वा उपाध्यक्ष सुरकृष्ण वैद्यलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्ने तयारी छ । तर अहिलेसम्म नाम बाहिर ल्याएका छैनन् । श्रेष्ठ समूह पनि आफ्नो टिम घोषणा गरेरै चुनावी मैदानमा छ ।
श्रेष्ठ प्यानलमा एसोसिएट उपाध्यक्षमा सिटिजन्स बैंकका अध्यक्ष तथा लोमस ग्रुपका निर्देशक प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा पेट्रोलियम तथा जलविद्युत् व्यवसायी शिवप्रसाद घिमिरे र जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ छन् ।
सोसिएट उपाध्यक्षका उम्मेदवार पाण्डेलाई पूर्वअध्यक्ष भवानी राणाको साथ छ । पाण्डे आफ्ना बुबा प्रदीपजंग पाण्डेको विरासत र आफ्नै परिपक्वताका कारण एसोसिएटमा बलियो मानिन्छन् । महासंघको आगामी कार्यकालपछि अध्यक्षको चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने भएको छ । बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालको पहलमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाइएको छ ।
तर, यो नयाँ व्यवस्था वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष भइसकेपछिको कार्यकालबाट मात्र लागु हुनेछ । संशोधित विधानअनुसार अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहनेछन् भने महिला उपाध्यक्षको संख्या पनि थप एक जना बढाइएको छ ।
ढकाल प्यानलका व्यवसायीको पृष्टभूमि
ढकाल प्यानलको नेतृत्व गर्दै हेमराज ढकाल वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार हुन् । हाल उनी वस्तुगततर्फका उपाध्यक्ष रहेका छन् । उनी हेरिटेज ग्रुपका अध्यक्ष हुन् । कोभिड महामारीमा अक्सिजन र औषधि आपूर्तिमा समन्वय गरेका उनी सरकारसँग सहकार्य गरी अर्थतन्त्र उकास्ने, सुशासन र लगानी सुरक्षाको प्रत्याभूति गर्ने मुख्य एजेण्डासहित चुनावमा होमिएका छन् ।
नरेशलाल श्रेष्ठ वस्तगत तर्फका उपाध्यक्षका उम्मेद्वार हुन् । उनी बागमती आर्टस् एण्ड ह्याण्डिक्राफ्टका सञ्चालक पनि हुन । श्रेष्ठले नेपाली उत्पादन र हाते कागजलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एजेण्डासहित उम्मेदवारी दिएका छन् । एसोसिएट उपाध्यक्षमा पुनः ज्योत्सना श्रेष्ठ आफै चुनावी मैदानमा छिन् । उनी हाल पनि सोही पदमा छिन् । उनी मेरिगोल्ड ज्वेलर्सकी सञ्चालक हुन् । अघिल्लो पटक रामचन्द्र संघाईको समूहबाट चुनाव जितेकी उनी यसपटक ढकाल प्यानलमा आबद्ध भएकी हुन् ।
जिल्ला नगर उपाध्यक्ष कल्पना गैरेको उम्मेदवारी छ । पाल्पा, काठमाण्डौ र धनगढीमा स्वास्थ्य व्यवसाय सञ्चालन गर्दै आएकी उनी महासंघको कार्यकारिणी सदस्य हुन् । जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया छन् । उनी रेडियो भिजनका सञ्चालक तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डालमिया हाल महासंघको मेला समिति संयोजक छन् ।
कमला श्रेष्ठले प्रस्तावित महिला उपाध्यक्षकी उम्मेद्वारी दिएकी छन् । सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी केयरकी सञ्चालक उनी हाल महासंघको महिला उद्यमी विकास समितिकी सभापति हुन् ।
अञ्जन श्रेष्ठ प्यानल, को–कस्ता ?
अञ्जन श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बन्छन् । तर उनले पनि आफ्नो समूह बनाएका छन् । उनको समर्थनमा प्यानल बनेर चुनावी मैदानमा छन् । यस प्यानललको वरिष्ठ उपाध्यक्षका उम्मेदवार भने टुंगो लगाइसकेको छैन ।
तर वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे चुनावी मैदानमा छन् । उनी नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत हुन । उनले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र अधिकारसम्पन्न बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएका छन् ।
एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको उम्मेदवारी छ । उनी सिटिजन्स बैंकका अध्यक्ष छन् । सिमेन्ट र फर्मासिटिकल्स उद्योगमा समेत लामो समयदेखि संलग्न छन् । जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्माको उम्मेदवारी छ । महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष रहेका शर्मा हस्तकला निर्यातकर्ता व्यवसायी हुन् । जिल्ला नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठको उम्मेदवारी छ, उनी धुलिखेल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । मंगलवार हुने निर्वाचनका लागि उम्मेदवारहरू भेटघाटमा व्यस्त छन् ।
अर्थ चाैतारी ।