काठमाण्डौ । रोयल इन्फिल्ड नेपालले दुई-पाङ्ग्रे पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । ललितपुरमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमेटिभले आयोजना गरेको कार्यक्रममा ४० वटा मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा कम्पनीका कर्मचारी सहभागी भएका थिए । कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए ।
वक्ताहरूले दुई-पाङ्ग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए । उनीहरूले नेपाललाई एड्भेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र उपयोगी हुने उल्लेख गरेका थिए । कार्यक्रममा उद्योगबीच समन्वय बढाएर सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।
आयोजक अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टमलाई थप सशक्त बनाउन साझेदारी, कम्युनिटी इन्गेजमेन्ट तथा दिगो पर्यटनसम्बन्धी पहललाई निरन्तरता दिने जनाएको छ ।
सन् १९०१ देखि उत्पादनमा रहेको रोयल इन्फिल्ड विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले हाल Guerrilla 450, Classic 350, Himalayan 450 लगायतका प्रिमियम मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
अर्थ चाैतारी ।