logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नीति तथा कार्यक्रममा जनअपेक्षा सम्बोधन भएन, आत्मनिर्भर अर्थतन्त्रको मार्गचित्र खै ? : सांसद नेम्वाङ

    नीति तथा कार्यक्रममा जनअपेक्षा सम्बोधन भएन, आत्मनिर्भर अर्थतन्त्रको मार्गचित्र खै ? : सांसद नेम्वाङ

    104
    SHARES
    नीति तथा कार्यक्रममा जनअपेक्षा सम्बोधन भएन, आत्मनिर्भर अर्थतन्त्रको मार्गचित्र खै ? : सांसद नेम्वाङ

    काठमाण्डौ । सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको नेकपा (एमाले) का सांसदहरूले आरोप लगाएका छन्। प्रतिनिधि सभामा बिहीबार भएको छलफलका क्रममा एमाले सांसदहरूले सरकारले ल्याएको कार्यक्रममा शासकीय स्वरूप, आर्थिक तथा सामाजिक विकासको कुनै स्पष्ट मार्गचित्र नभएको दाबी गरेका हुन् ।



    एमाले सांसद सुहाङ नेम्वाङले सरकारले जनताको भरोसा र प्रश्नको जगमा उभिएर कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे। उनले देश आर्थिक परनिर्भरताको भारीमा थिचिएको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प नीति तथा कार्यक्रममा नदेखिएको बताए। नेम्वाङले उत्पादनबिनाको बजार र वितरणको सपना केवल भाषणमा मात्रै सीमित हुने भन्दै नेपालले उत्पादनमुखी अर्थतन्त्रको बाटो समात्नुपर्नेमा जोड दिए। उनले सुशासन त्रासबाट नभई बलियो प्रणालीबाट आउने उल्लेख गर्दै समाजको एउटा वर्ग भोकै र उपेक्षित रहँदासम्म भौतिक विकासले मात्र समृद्धि नआउने तर्क गरे।

    संविधान संशोधनका विषयमा बोल्दै उनले यो केवल संशोधनका लागि नभई जनताको अधिकार रक्षा र अग्रगमनका लागि हुनुपर्ने बताए। बहुमतको गणितले मात्र नभई राष्ट्रको साझा भावना र सहमतिले मात्र संविधानलाई स्थायित्व दिने उनको भनाइ छ। उनले भने, ‘यो नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प कतै देखिँदैन। यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन।’ यसैगरी एमालेका प्रमुख सचेतक ऐन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाए। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्ने अपेक्षा गरिए पनि उनी बिचमै उठेर हिँडेकोमा महरले असन्तुष्टि व्यक्त गरे।

    उनले यो नीति तथा कार्यक्रम सरकार आफैँले लेखेको हो कि कतै बाहिरबाट लेखिएर आएको हो भनी प्रश्न उठाए। महरले २०६२/६३ को जनआन्दोलन र शहीदहरूको सम्मानजनक स्मरण नगरिएकोमा खेद व्यक्त गर्दै संविधान संशोधनको बहसले थप संशय सिर्जना गरेको बताए। उनले भने, ‘जुन प्रकारको नैराश्य, प्रधानमन्त्री र मन्त्रीहरूको उदासीनता देखियो, यसप्रति म खिन्न भएँ। यो नीति तथा कार्यक्रम त सरकारको हो, सरकारको नीति तथा कार्यक्रमप्रति सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू किन उदासीन र नैराश्य ?’

    सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गरे। संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र नीति तथा कार्यक्रममा प्रतिबिम्बित नभएको र राजस्व नीतिको आधार नै स्पष्ट नभएको उनको तर्क छ। थेबेले केवल डिजिटलाइजेसनलाई मात्र आर्थिक रूपान्तरणको आधार बनाउन नहुने भन्दै प्रविधि र अनुसन्धानमा आधारित उद्यमशीलतामा जोड दिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन अन्य दुई विमानस्थलमध्ये एउटालाई वैदेशिक रोजगार र अर्कोलाई पर्यटन केन्द्रित बनाउन सुझाव दिए। एमाले सांसदहरूले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा ठोस कार्यक्रम नआएको भन्दै नीति तथा कार्यक्रम केवल घोषणामैत्री मात्र बनेको टिप्पणी गरेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट