काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा लाग्ने सेवा शुल्क खारेज वा पुनरावलोकन गर्न माग गरेकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अवस्थीले डिजिटल अर्थतन्त्रको कुरा गरिरहँदा १० रुपैयाँ सेवा शुल्कले साना व्यवसायी र आम नागरिकलाई निरुत्साहित गरिरहेको बताइन् ।
सरकारको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र वित्तीय पहुँच बढाउने लक्ष्य स्वागतयोग्य भए पनि व्यवहारमा केही चुनौतीहरू बाँकी रहेको उनले औंल्याइन् । ‘हामी एकातिर क्यासलेस अर्थतन्त्रको कुरा गर्दैछौँ, अर्कोतिर एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा लाग्ने १० रुपैयाँ सेवा शुल्क अझै कायम छ,’ सांसद अवस्थीले भनिन्, ‘यसले गर्दा साना रकम कारोबार गर्ने आम नागरिक र साना व्यवसायीहरू मर्कामा परेका छन्। डिजिटल कारोबारलाई सहज र सर्वसुलभ बनाउन यो शुल्क पुनरावलोकन गर्न आवश्यक छ ।’
त्यस्तै, उनले व्यावसायिक प्रयोजनका लागि व्यक्तिगत क्युआर कोड प्रयोग गर्ने बढ्दो प्रवृत्तिप्रति पनि सदनको ध्यानाकर्षण गराइन् । व्यक्तिगत क्युआर प्रयोग गर्दा कर प्रणालीमा समस्या आउने, वित्तीय पारदर्शिता नहुने र उपभोक्ता अधिकारमा समेत प्रत्यक्ष असर परिरहेको उनको दाबी छ ।
डिजिटल कारोबारलाई थप विश्वसनीय, सहज र जनमैत्री बनाउनका लागि आवश्यक नीतिगत सुधार, प्रभावकारी अनुगमन र नियमनलाई सुदृढ बनाउन उनले सरकार र सम्बन्धित निकायसँग आग्रह गरेकी छन् । पछिल्लो समय क्युआर भुक्तानी, मोबाइल बैंकिङ र डिजिटल वालेटको प्रयोग बढे पनि सेवा शुल्क र नियमनका अभावमा साना प्रयोगकर्ताहरू समस्यामा परेको उनले बताइन्।
अर्थ चाैतारी ।