काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार, वैद्य ५६ मत प्राप्त गरेर वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार थिए। हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघईबीच प्रतिस्पर्धा भएको हो।

त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्। उनले ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
महासंघको ६०औँ वार्षिक साधारणसभा एवं निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो। महासंघको विधान २०४९ (सातौँ संशोधन)ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था गरेको थियो। त्यहीअनुसार, आझ दुई पदका लागि निर्वाचन भएको हो।
अर्थ चाैतारी ।