काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन गर्ने भनेर आश्वस्त गराएपनि एकाएक नयाँ ट्वीस्ट आएको छ । रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिएपनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भनेको हो ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालेनले सम्बोधन गर्नेगरी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मंगलबार दिउँसो अवरुद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो ।
तर, प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि महामन्त्री बुर्लाकोटीले सदनमा टालटुले जवाफ दिए । उनले प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्ने बताएपनि प्रतिपक्षी आश्वस्त हुन सकेनन् । त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री सदनमा आउनुपर्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्णय भएको र सत्तापक्षले पनि प्रधानमन्त्रीको सम्बोधन आउने भनेकाले सदन चलाउन सहयोग गर्न आग्रह गरे । यसपछि सदन चलेपनि प्रधानमन्त्रीले ढाँटिरहे चुप लागेर नबस्ने प्रतिपक्षले बताएका छन् ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठकमा आवाज उठाउँदै आएका छन् ।
अर्थ चाैतारी ।