काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको पुँजीगत लाभकरका विषयमा भइरहेको भ्रम र अनिश्चितता अन्त्य गरेका छन् ।
अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तोकिएको क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम भएको उनले आइतबार पत्रकार सम्मेलनमार्फत प्रस्ट पारेका हुन् । बजेट सार्वजनिक भएपछि करको दरलाई लिएर डेलिगेसन आउने क्रम सुरु भएको सङ्केत गर्दै मन्त्री वाग्लेले यो विषय अब बन्द भइसकेको बताए ।
‘सेयर मार्केटको विषयमा फाइनल हो कि होइन भनेर प्रश्न उठिरहेको छ। म प्रस्ट भन्छु– यो फाइनल नै हो । ५ प्रतिशतलाई बढाएर साढे ७ प्रतिशत र साढे ७ प्रतिशतलाई १० प्रतिशत बनाएर फाइनल, सिल्ड र डन भइसकेको छ,’ उनले भने।
भारतमा अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर क्रमशः २० र १० प्रतिशत रहेको उदाहरण दिँदै उनले नेपालमा तोकिएको दर निकै उदार भएको दाबी गरे।
अर्थ चाैतारी ।