काठमाण्डौ । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली फिल्म ‘एलिफेन्टस् इन द फग’ अब नेपालमा प्रदर्शन हुने भएको छ।
आगामी भदौ १९ (४ सेप्टेम्बर) देखि यो फिल्म नेपालभर प्रदर्शनमा आउने भएको हो। नेपालीमा फिल्मको नाम ‘तिनीहरू’ रहेको छ। बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा निर्माण टिमले आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
अविनाश विक्रम शाहको निर्देशनमा बनेको यो फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको थियो। यो कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रदर्शन भएको थियो। फिल्मले उक्त विधाअन्तर्गत जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहास रचेको थियो।
फिल्मको निर्माणमा नेपालसहित फ्रान्स, जर्मनीलगायत देशका निर्माण कम्पनीहरूले सहकार्य गरेका छन्। फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरूङ, दुरा सञ्जय गुप्ता, अलिज घिमिरे, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ।
यस फिल्मले तराईको जंगल आसपास बसोबास गर्ने यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको कथा भन्छ। फिल्मले लैंगिक तथा सामाजिक रूपमा सीमान्तकृत समुदायका जीवन, पहिचान, प्रेम, अस्तित्व र संघर्षका विविध पाटाहरूलाई प्रस्तुत गरेको बताइएको छ।
अर्थ चाैतारी ।