logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा बारको गम्भीर आपत्ति

    सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा बारको गम्भीर आपत्ति

    182
    SHARES
    सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा बारको गम्भीर आपत्ति

    काठमाण्डौ । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन्द्र शाहले हालै प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति बारले चिन्ता समेत व्यक्त गरेको छ ।



    जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तरको क्रममा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाले नेपालको कुटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने बारले चिन्ता व्यक्त गरेको छ । एशोसिएशनका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनता सम्पूर्ण नेपालीको साझा राष्ट्रिय विषय भएको उल्लेख गरिएको छ ।

    यस्तो संवेदनशील मुद्दामा प्रधानमन्त्रीले संसद जस्तो गरिमामय ठाउँमा दिएको अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवार भएको बारको ठहर छ । ऐतिहासिक तथ्य, प्रमाण, नाप-नक्सा र सन्धि-सम्झौताका आधारमा सीमा विवादको समाधान खोज्नुपर्नेमा हठात् र भावनात्मक निर्णयका आधारमा टिप्पणी गरिनु दुःखद भएको विज्ञप्तिमा जनाइएको छ ।

    विशेष गरी प्रधानमन्त्री शाहले ‘नेपालले पनि सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई बारले हल्का टिप्पणी र राष्ट्रिय हित विपरीतको कार्यका रूपमा लिएको जनाएको छ ।

    नदीको धार परिवर्तन वा खेती कमाइका कारण उत्पन्न हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट हुने रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने बारले जनाएको छ । यस्ता गम्भीर विषयमा सामान्य कुटनीतिक ज्ञान समेत नराखी अभिव्यक्ति दिनु खेदजनक भएको एशोसिएशनले बताएको छ ।

    एशोसिएशनले आगामी दिनमा राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन माग समेत गरेको छ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने र यस्तो अडानमा सिंगो देश एकजुट हुनुपर्नेमा जोड दिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट