काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा ‘चौथो सांग्रिला साइकल र्याली’ आगामी जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको साइकल र्याली यस वर्ष पनि सोही अवसरलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।
र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । र्याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुगेर पुनः एलिस रिसेप्सन गैरीधारामै समापन हुनेछ ।
सहभागिताका लागि इच्छुक व्यक्तिहरूले मोबाइल नम्बर ९८६३५८९००१ मा ‘रजिस्टेसन’ लेखी पठाएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, क्यूआर कोड स्क्यान गरेर पनि दर्ता गर्न सकिने जनाइएको छ । र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल प्रदान गरिनेछ भने अन्य सहभागीलाई पनि विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यसअघि पनि तीन संस्करणका साइकल र्याली सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्ष पनि वातावरणप्रति सचेत नागरिक तथा साइकलमैत्री शहरको पक्षमा रहेका सबैको सहभागिताको अपेक्षा गरिएको छ ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अर्थ चाैतारी ।