logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरणबारे तालीम दिन थाल्यो, खैरोसूचीबाट बाहिर निस्कन सघाउने

    राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरणबारे तालीम दिन थाल्यो, खैरोसूचीबाट बाहिर निस्कन सघाउने

    481
    SHARES
    राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरणबारे तालीम दिन थाल्यो, खैरोसूचीबाट बाहिर निस्कन सघाउने

    विराटनगर । नेपाल राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई ‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य र आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी’ सम्बन्धी विशेष अनुशिक्षण तालिम दिन सुरु गरेको छ । सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने अधिकारीको क्षमता अभिवृद्धि गर्न केन्द्रीय बैंकले नेपाल प्रहरीसँग मिलेर यो कामको सुरूवात गरेको हो ।



    खासगरी नेपाल एफएटीएफको खैरोसूचीमा परेपछि यसबाट निस्कने प्रयासमा बल पुर्‍याउन प्रहरीको क्षमता विस्तार गर्नुपर्नेछ । तालिममा सहभागी प्रशिक्षार्थीले सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण पाउनेछन् । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।

    सातै प्रदेशमा यस्तो तालीम दिने अभियानको सुरूवात मंगलबार कोशी प्रदेशबाट भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा तालीम सुरू भएको हो । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता छ ।

    यो तालिम कोशी प्रदेशबाट सुरु भए पनि मुलुकका सातै प्रदेशमा सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशमा ३० जना प्रहरी अधिकृतहरूलाई तालिम दिइने लक्ष्य राखिएको छ ।
    नेपाललाई सन् २०२७ को फेब्रुअरीसम्ममा एफएटीएफको खैरोसूचीबाट बाहिर ल्याउनु यस तालिमको एउटा मुख्य रणनीतिक उद्देश्य हो ।
    नेपालले ग्रे लिस्टबाट निस्कनका लागि १५ वटा एक्सन प्लानहरूमा काम गरिरहेको छ । यो तालिमले विशेष गरी एक्सन प्लान नम्बर १.१, ७.१ र ७.२ लाई सीधा सहयोग पुर्‍याउन आयोजना गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताए ।

    ‘राष्ट्र बैंकको निरीक्षण/सुपरीवेक्षण र नेपाल प्रहरीको अनुसन्धान प्रक्रियाबीच रहेको अन्तरलाई कम गरी दुवै निकायबीच एउटा ‘साझा बुझाइ’ विकास गर्न यो कार्यक्रम केन्द्रित छ,’ पौडेलले भने, ‘प्रहरीलाई नगद प्रवाहको पहिचान गर्न र वित्तीय गुप्तचरीको माध्यमबाट अपराधको अनुसन्धान गर्न थप सक्षम बनाउने यो अभियानो मुख्य उद्देश्य हो ।’ तालिम प्राप्त गरेका प्रहरीहरूले आफ्नो विभागका अन्य साथीहरूलाई पनि आफूले सिकेको ज्ञान बाँड्ने र यसले दीर्घकालीन रूपमा जनशक्तिको क्षमता बढाउने अपेक्षा गरिएको छ ।

    तालिमको उद्‍घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले मुलुकको आर्थिक स्थायित्व र सुशासनका लागि वित्तीय अपराध नियन्त्रण अपरिहार्य रहेको बताए । उनले वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई सामना गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी सूचना आदानप्रदान र दक्ष जनशक्ति निर्माण गर्न यो तालिम कोसेढुङ्गा सावित हुने उल्लेख गरे । प्रहरी महानिरीक्षक कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल र प्रविधिमैत्री बन्दै गएको उल्लेख गरे ।

    हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन र लागूऔषध जस्ता अपराधको सफल अनुसन्धानका लागि वित्तीय विश्लेषण र प्राविधिक ज्ञान अनिवार्य रहेको भन्दै उनले यो तालिमले प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक क्षमता बढाउने विश्वास व्यक्त गरे । तालीमका लागि नेपाल राष्ट्र बैंकले प्रत्येक प्रदेशमा कम्तिमा एकएक जना स्रोत व्यक्ति उपलब्ध गराउनेछ ।

    एफएटीएफ अन्तर्तगको एपीजीले नेपालमा गरेको पारस्पारिक मुल्यांकनका क्रममा सम्बन्धित सक्षम निकायहरूको क्षमता अभिवृद्धि तथा सचेतना विस्तारका लागि जोखिम मूल्यांकनका निष्कर्षहरू सार्वजनिक गर्ने, कार्यशाला तथा अन्तरक्रिया एवं पहुँच विस्तार कार्यक्रमहरू सञ्चालन गर्ने, नेपालले वित्तीय सूचनाको प्रभावकारी प्रयोगसहित सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित अनुसन्धानकारी निकायहरूको क्षमता तथा अन्तर-निकाय समन्वयलाई थप सुदृढ बनाउनुपर्ने र नेपालले विशेष गरी उच्च जोखिमयुक्त पूर्ववर्ती अपराधहरू तथा जटिल प्रकृतिका सम्पत्ति शुद्धीकरण मुद्दाहरूमा अनुसन्धान र अभियोजनको संख्या तथा प्रभावकारिता वृद्धि भएको स्पष्ट रूपमा देखाउनुपर्ने औंल्याएको थियो ।

    यीनै इमिडिएट आउटकम्स अन्तर्गत राष्ट्र बैंक र प्रहरीबीचको सहकार्यमा सुरू भएको यो कार्यक्रमले मुख्यतः यी तीनवटा एक्सन प्लानलाई सोझै सकारात्मक योगदान दिएको पौडेल बताउँछन् । ‘हाम्रा स्रोत व्यक्तिले प्रहरी अधिकारीहरूलाई क्यास फ्लोपट्टि अलि बढी फोकस गरेर यो वित्तीय अपराधजन्य क्रियाकलापलाई इन्भेस्टिगेसन अथवा फाइनान्सिङ इन्टेलिजेन्सको माध्यमबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा तालीम दिनु हुनेछ,’ पौडेलले भने ।


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट