logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • सगरमाथा संरक्षणमा साईमेक्स बीवाइडी र एसपीसीसीको दीर्घकालीन सहकार्य

    सगरमाथा संरक्षणमा साईमेक्स बीवाइडी र एसपीसीसीको दीर्घकालीन सहकार्य

    299
    SHARES
    सगरमाथा संरक्षणमा साईमेक्स बीवाइडी र एसपीसीसीको दीर्घकालीन सहकार्य

    काठमाण्डौ । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि आफ्नो सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणमा दीर्घकालीन साझेदारी अघि बढाएका हुन्। बीवाइडीको “कूल द अर्थ बाई १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसीसँग सहकार्य गर्दै आएको छ।



    पछिल्ला दशकमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमा गम्भीर दबाब परेको छ। विभिन्न अध्ययन अनुसार हिमालमा अझै पनि झन्डै ८० टन फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक र आरोहण सामग्री बाँकी रहेको अनुमान छ, जसले हिमनदी, जलस्रोत र स्थानीय समुदायमा प्रत्यक्ष असर पारिरहेको छ। यही चुनौतीलाई सम्बोधन गर्न सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरेको छ। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन र आरोही सचेतनामा महत्वपूर्ण भूमिका खेलेका छन्। विशेष गरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपीसीसीले जनाएको छ।

    सन् २०२६ को वसन्तकालीन सिजन वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय रहेको छ। यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन इतिहासकै उच्च संख्या हो। एसपीसीसीको प्रणालीमार्फत क्याम्प–३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर संकलन गरिएको छ। त्यस्तै २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव मल व्यवस्थापनका लागि प्रयोग गरिने ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ। खुम्बु आइसफल प्रवेशद्वारमा रहेको चेकपोइन्टमार्फत क्याम्प–२ बाट मात्रै थप ६ हजार ५२२ किलोग्राम फोहोर संकलन गरिएको छ, जसमा ३ हजार ५३३ केजी टिन तथा क्यान, ८२७ केजी भान्साजन्य फोहोर, ८०३ केजी कागज, ६७६ केजी प्लास्टिक, ६१६ केजी टेन्ट तथा कपडा र ६७ केजी डोरी सङ्कलन भएको छ।

    यस साझेदारीले सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँग सुरु गरेको सहकार्यलाई पनि निरन्तरता दिएको छ, जस अन्तर्गत परीक्षण चरणमा क्याम्प–१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक ढुवानी गरिएको थियो। यसैगरी स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सीबीसीएफले एभरेष्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको छ, जसले परम्परागत इन्धनमाथिको निर्भरता घटाउनेछ। यी उपलब्धिहरूलाई आधार बनाउँदै आगामी वर्षहरूमा सगरमाथा क्षेत्रमा थप दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको छ।

    ‘एभरेष्ट १° इनिसियटिभ’ लाई तीन चरणमा कार्यान्वयन गर्ने योजना छ। सन् २०२६ को पहिलो चरणमा वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, दुई जना रेन्जर परिचालन र प्रारम्भिक ड्रोन परिचालन गरिनेछ। सन् २०२७ को दोस्रो चरण अन्तर्गत चार्टर कार्यान्वयन, ६ जना रेन्जर परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोन सञ्चालन र १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार गरिनेछ। सन् २०२८ को तेस्रो तथा अन्तिम चरणमा पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, २०० वटा व्यवस्थापन उपकरण परिचालन गर्ने र आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरी दिगोपन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

    सन् १९९१ मा स्थापित एसपीसीसी शेर्पा समुदायको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था हो, जसले सगरमाथा क्षेत्रमा वातावरण संरक्षण र दिगो विकासको कार्य गर्दै आएको छ। त्यस्तै, सन् २०२४ मा स्थापित सीबीसीएफ साईमेक्स इन्क प्रालि र बीवाइडीको संयुक्त पहल हो, जसले नवीकरणीय ऊर्जा, शिक्षा र दिगो विकासका क्षेत्रमा काम गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट