logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)

    काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)

    312
    SHARES
    काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)

    विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्। यो बजेट चालू आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको छ । कुल विनियोजित बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।



    खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ सङ्कलन गरिने अनुमान छ। यसका अतिरिक्त सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टी बापत प्राप्त हुने ४१ करोड रुपैयाँ र सोझै भुक्तानीबाट प्राप्त हुने २० करोड रुपैयाँ स्रोतका रूपमा परिचालन गरिनेछ भने बाँकी अपुग ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

    भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस क्षेत्रका लागि १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित पूर्वाधार बजेटमध्ये स्थानीय तहका केन्द्र जोड्ने सडकहरू निर्माणका लागि ४ अर्ब रुपैयाँ र विपन्न वर्ग लक्षित जनता आवास कार्यक्रमका लागि ४ करोड ५० लाख रुपैयाँ खर्च गरिनेछ ।

    यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस अन्तर्गत बहुवर्षीय खानेपानीका लागि २४ करोड रुपैयाँ र थप दुई सय वटा खानेपानी आयोजनाका लागि २७ करोड रुपैयाँ खर्च गरिनेछ । प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ वटा क्षेत्रमा प्रति क्षेत्र एक करोडका दरले खानेपानी आयोजना तथा बाँकी १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धित एक करोडका आयोजना गरी कुल ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण र विपद् व्यवस्थापनका लागि भने ६२ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ ।

    कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री लिङ्थेपले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गरिने उल्लेख गरेका छन् । विनियोजित बजेट कृषि पूर्वाधार निर्माण, सिँचाइ, सहुलियतपूर्ण ऋणको उपलब्धता, उन्नत बीउबिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिनेछ ।

    शिक्षा र सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस अन्तर्गत सक्षम छोरी कार्यक्रमका लागि ७ करोड रुपैयाँ, अपाङ्गता रोकथाम तथा संरक्षणका लागि १६ करोड ५० लाख रुपैयाँ, बौद्धिक अपाङ्गता तथा अटिजम भएका बालबालिकाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । साङ्केतिक भाषाको अधिकार प्रत्याभूतिका लागि १६ करोड रुपैयाँ र साङ्केतिक भाषा स्रोत कक्षाका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

    प्रदेशका एक सय वटा वडा विद्यालयमा डिजिटल बोर्डबाट पढाइ सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययन कार्य पनि अगाडि बढाइनेछ । मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले धनकुटामा चिकित्सा शास्त्र अध्ययन सुरु गर्ने घोषणा समेत गरेको छ । खेलकुद क्षेत्रको विकासका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा वैजनाथ क्रिकेट रङ्गशाला निर्माणका लागि ५ करोड रुपैयाँ र समुदायमा रहेका मौलिक ज्ञान, सीप र प्रविधि अनुसन्धान गर्न २७ करोड रुपैयाँ बजेट समावेश छ ।

    पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका कार्यक्रमका लागि ३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस अन्तर्गत कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख रुपैयाँ र पदमार्गमा आधारित पर्यटन प्रवर्द्धनका लागि १२ करोड ७७ लाख रुपैयाँ खर्च गरिनेछ । कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका लागि ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस क्षेत्रमा झापाको मेचीनगर र मोरङको रङ्गेलीमा रहेका कोल्ड स्टोर सञ्चालन गर्ने तथा केन्द्र सरकारसँगको समन्वयमा प्रदेशबाटै सवारी साधनको लाइसेन्स छाप्ने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै सञ्चार क्षेत्रका लागि ४ करोड रुपैयाँ, धनकुटाको चौबिसेमा आईटी पार्क निर्माण गर्न २ करोड रुपैयाँ, प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम दिने व्यवस्था र म अघि बढ्छु कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    कोशी प्रदेश सरकारले सङ्घीय सरकारको निर्णय अनुसार भइरहेको आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने नीति लिएको छ । सेवाको प्रभावकारिता र आम नागरिकको सहजतालाई मध्यनजर गरेर आइतबारको बिदा पुनरावलोकन गरिने बजेट वक्तव्यमा जनाइएको छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि प्रदेशमा आइतबारको बिदा हटाउने विषयमा गृहकार्य भइरहेको र यसबारे सुझाव सङ्कलन भइरहेको बताएका थिए।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट