काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) गणेश बहादुर ठाडा मगर, सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा बालाजु शाखा प्रमुख मदन खतिवडाको उपस्थिति थियो ।
सहयोग सामग्री बुझ्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मगरले प्राप्त उद्धार सामग्रीहरूले विपद् व्यवस्थापन टोलीको कार्यक्षमता बढाउनुका साथै कठिन परिस्थितिमा नागरिकको ज्यान जोगाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले मानवीय कार्यमा सहयोग गरेको भन्दै कम्पनीलाई धन्यवाद समेत दिए ।
त्यस्तै, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत फुयालले बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गरे । “सशस्त्र प्रहरी देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा अग्रणी भूमिकामा रहँदै आएको छ,” फुयालले भने, “विपद्पछिको उद्धारमा मात्र नभई पूर्व तयारीलाई समेत थप सशक्त बनाउने र आपतकालीन जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ कम्पनीले यो योगदान गरेको हो ।”
हाल देशभर १५० वटा शाखा तथा उप-शाखाहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

अर्थ चाैतारी ।