logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    286
    SHARES
    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    काठमाण्डौ । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो ।



    वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको मुटुमा विगत ४२ वर्षदेखि ‘विश्वास’ धड्किरहेको बताउँदै यसलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति र भविष्यको बलियो जगका रूपमा उल्लेख गरे । नेपालकै पहिलो निजी वाणिज्य बैंकका रूपमा स्थापना भएको नबिल बैंकले एनबैंक (nBank) एपमार्फत देशको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गरिसकेको छ । हाल यो बैंक वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम (Financial Ecosystem) प्रदान गर्ने नेपालकै एकमात्र वित्तीय समूह बनेको अध्यक्ष चौधरीको भनाइ छ ।

    बैंक अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रूपान्तरणकारी युगमा प्रवेश गरेको घोषणा गर्दै अध्यक्ष चौधरीले एनबैंकको आगामी विकासमा एआईलाई केन्द्रविन्दुमा राखिने जानकारी दिए । एआई प्रविधिको प्रयोगबाट निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन र व्यवसाय सञ्चालनलाई चुस्त बनाइने तथा द्रुत कर्जा प्रवाह र मजबुत सुरक्षा प्रणालीको विकास गरिने बैंकले जनाएको छ । प्रविधि जतिसुकै बौद्धिक बने पनि बैंकको मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले ग्राहक र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वासका साथ भविष्यतर्फ हेरिरहेको बताए । ग्राहकहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै बैंकले देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको छ । हालसम्म बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जामा ५१ अर्ब ६ करोड, साना तथा मझौला उद्योग (MSMEs) मा ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ ।

    विगत ४२ वर्षको अवधिमा बैंकले प्रमुख वित्तीय सूचकांकहरूमा अभूतपूर्व प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख नेटवर्थ र १० लाख रुपैयाँ खुद नाफा रहेको बैंकको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ ७० अर्ब ८३ करोड र खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । सुरुवाती चरणमा १४ करोड ६० लाख रहेको निक्षेप संकलन बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड तथा कर्जा प्रवाह १३ करोड ३० लाखबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । २ शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकको नेटवर्क अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४ सय ६९ दक्ष कर्मचारीहरूसहित २६ लाखभन्दा बढी ग्राहकहरूमाझ बिस्तार भएको छ ।

    यो ऐतिहासिक अवसरलाई उत्सवमय बनाउन नबिल बैंकले ४२ दिन लामो विशेष प्रवर्द्धनात्मक योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि आधार दर (Base Rate) मा मात्र ०.५ प्रतिशत प्रिमियम थप गरी सहुलियतपूर्ण ‘पुनःनिर्माण घर कर्जा योजना’ ल्याइएको छ । यसका साथै लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) सेवाको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट र डेबिट कार्डको आवेदन एवं सदस्यता शुल्कमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट